नेपालद्वारा मलेसिया सात विकेटले पराजित

154

असार २८, काठमाडौं । नेपालले मलेसियालाई पहिलो टी–२० खेलमा ७ विकेटले पराजित गरेको छ ।
मलेसियाले नेपालसामु जीतका लागि १ सय २९ रनको प्रस्तुत गरेको लक्ष्य नेपालले १८।३ ओभरमा मात्र ३ विकेटको क्षतिमा पछ्यायो । नेपालको जीतमा कप्तान पारस खड्का नायक बने । उनले विस्फोटक ब्याटिङ गर्दै मात्र ५० बलमा ८६ रन बनाए । यसक्रमा उनले ५ छक्का र आठ चौका हिर्काए ।

शरद भेष्वाकर १६ रन बनाएर नट आउट रहे । आइसीसी टी–२० विश्वकप एशिया छनोट फाइनलको तयारीका लागि नेपाल मलेसियाको भ्रमणमा रहेको छ । यसअघि, किनरारा ओभल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २८ रन बनाएको थियो ।

मलेसियाका लागि वीरनदिप सिंहले सर्वाधिक ५७ रनको योगदान दिए । उनले ४९ बलमा ७ चौका र १ छक्का हिर्काए । त्यस्तै, कप्तान अहमद फैजले ४५ रन बनाए । ३९ बलमा उनले दुई छक्का हिर्काए ।

नेपालका लागि करन केसीले तीन विकेट लिए । केसीले तीनै विकेट अन्तिम ओभरमा लिएका थिए ।
सन्दीप लामिछाने र बसन्त रेग्मीले २–२ विकेट लिए भने सोमपाल कामीले एक विकेट लिए ।

सिङ्गापुरमा आयोजना हुने आइसिसी टी ट्वान्टी विश्वकप एशिया छनोट फाइनल प्रतियोगिता तयारीको लागि नेपाली टोलीले घरेलु टोली मलेसियासँग दुई खेलको टी ट्वान्टी सिरिज खेल्नेछ ।
टी ट्वान्टी सिरिज सकिएपछि त्यतैबाट नेपाली टोली सिङ्गापुर जानेछ ।