‘इन्टु मिन्टु लण्डनमा’ की रेनशाले रेखाको फिल्म निर्देशक गर्ने

182

असार २७,
काठमाडौं । अभिनेत्री रेखा थापाले रेखा फिल्मस्को छैटौं फिल्ममा निर्देशक तथा कोरियोग्राफर रेनशा वान्तवा राई राणालाई अनुबन्ध गरेकी छन् । शुक्रबार परेको रेनशाको जन्मदिनमा रेखाले आफ्नो नयाँ फिल्ममा उनलाई निर्देशकको रुपमा भित्राएकी हुन् । रेनशाले गएको वर्ष प्रदर्शनमा आएको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ बाट निर्देशनमा डेब्यू गरेकी थिइन् । यो फिल्मबाट उनले निर्देशनमा राम्रो सम्भावना देखाएकी थिइन् । उनको निर्देशकीय क्षमताको निकै तारिफ भएको थियो ।

रेखाले फिल्मको छायांकन दशैंपछि सुरु हुने जानकारी दिएकी छन् । उनका अनुसार, फिल्म महिलाको मुद्धामा बन्नेछ । यसअघि पनि रेखा फिल्मस्को ब्यानरमा बनेका फिल्ममा महिलालाई सशक्त रुपमा प्रस्तुत गरिँदै आएको थियो । अभिमन्यू निरवीले तयार पारेको कथामा बन्ने फिल्म मल्टीस्टारर हुने बताइएको छ । केही हप्तायता फिल्मको स्क्रिप्टमा काम भइरहेको छ । निर्देशक रेनशाले जन्मदिनमा विशेष उपहार पाएकोमा खुसी व्यक्त गरेकी छन् ।
फिल्मको नाम भने सार्वजनिक गरिएको छैन । अभिनेत्री रेखाले स्क्रिप्टको काम पूरा भएपछि फिल्मको नाम जुराइने बताइन् । फिल्ममा उनको अभिनय रहने छ वा छैन रु त्यो गोप्य राखिएको छ । फिल्ममा नयाँदेखि पुरानासम्म चलेका कलाकारहरुको अभिनय रहने जानकारी प्राप्त छ । तर, अहिलेसम्म फिल्ममा कोही कलाकारको रुपमा अनुबन्ध भएका छैनन् । रेखा यो फिल्मलाई लिएर निकै उत्साहित छिन् ।