शिक्षा मन्त्रालय र केन्द्रविरुद्ध अदालत जाने पीडितको तयारी

293

नेपाल समाचारपत्र
असार २५, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नमुना विद्यालयको सूचीमा परेका दुई विद्यालयको नाम हटाएर अर्कै विद्यालयलाई छनौट गरेपछि पीडितहरु अदालत जाने तयारीमा छन् । विद्यालयको भौतिक, प्रशासनिक र आर्थिक अवस्था, विद्यार्थी संख्या, उत्तीर्ण प्रतिशत लगायतका विषयमा मूल्याङकन गरी उत्कृष्ट नम्बर पाएका १६ मध्य दुई विद्यालयको नाम काटेपछि नमुनामा परेका विद्यालयहरु मन्त्रालय र शिक्षा तथा मानवस्रोत विकास केन्द्रविरुद्ध अदालत जाने तयारीमा जुटेका हुन् । मन्त्रीको सचिवालय, केन्द्रका केही कर्मचारीको चलखेलले गर्दा मूल्याङकनको आधारमा नमुना विद्यालय सिफारिस भएका दुई विद्यालयको नाम काटिएको हो । नाम थपिएका विद्यालयमध्य एउटा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलको जिल्लाको हो ।

स्रोतका अनुसार सुदूरपश्चिमको कञ्चनपुरको वैजनाथ माविको नाम काटेर महाकाली माविको नाम समावेश गरिएको छ । त्यस्तै महोत्तरीको सुधा माविको नाम हटाएर लक्ष्मी चण्डी मुरारका माविको नाम समावेश गरिएको छ । ‘नमुना विद्यालयको लागि प्रतिष्पर्धा गर्दा उच्च अंक पाएका दुई विद्यालयको नाम हटाएर कम अंक ल्याउने विद्यलयलाई नमुना विद्यालय बनाउन मन्त्रीको सचिवालय र केन्द्रका उच्च तहका कर्मचारीको चलखेल देखिएको छ–मन्त्रालयका उच्च अधिकारीले भने ।

ती अधिकारीका अनुसार मन्त्रीका सल्लाहकार, सचिवालयका कर्मचारी, शिक्षा सचिव लगायतका हात रहेको उल्लेख छ । मन्त्रालयले दुई साता अघि १६ विद्यालयलाई नमुना विद्यालय छनौट गरेको हो । शिक्षा मन्त्री र मन्त्रीको सचिवालयको दवावमा कम अंक ल्याउने विद्यालयको नाम समावेश गरेपछि महोत्तरी सुधा माविका विद्यालय प्रशासन, व्यवस्थापन समिति र त्यहाका राजनितिक दलका प्रतिनिधीले मुद्धा हाल्ने चेतावनी दिएका छन् ।