सिरिन्ज आक्रमण गरेको आरोप लागेका पाठक थुनामुक्त

242

असार २४,
काठमाडौं । सार्वजनिक बसमा युवतीमाथि सिरिन्ज ९सुई० घोपेको आरोपमा पक्राउ परेका युवक रिहा भएका छन् । बसमा यात्रा गरिरहेका बेला एक युवतीले आफूमाथि सिरिन्ज आक्रमण गरेको आरोप लगाएपछि स्याङ्जाका शिक्षक खगेन्द्रप्रसाद पाठक पक्राउ परेका थिए । काभ्रेको धुलिखेलमा उपचाररत भनिएका दाईलाई भेट्न काठमाडौंबाट धुलिखेल जाने गाडीमा चढेका पाठकलाई सोही बसमा यात्रारत एक १९ वर्षीया किशोरीले आफूमाथि सुई घोपेको आरोप लगाएकी थिइन् ।

युवतीको आरोपपछि बसमा यात्रारत यात्रु र स्थानीयले पाठकलाई कुटपिट गरेका थिए । स्थानीयको घेरामा रहेका पाठकलाई प्रहरीले काभ्रेको बनेपाबाट नियन्त्रणमा लिएको थियो । अनुसन्धानको क्रममा युवतीमाथि पाठकले नै सिरिन्ज आक्रमण गरेको पुष्टि हुने कुनै प्रमाण फेला नपरेपछि उनलाई हिरासत मुक्त गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए ।

सिरिन्ज आक्रमणमा परेकी भनिएकी किशोरीलाई भने चेकजाँचका लागि काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण केन्द्र पठाइएको र रिपोर्ट आएपछि मात्रै थप कारबाही अगाडि बढाइने एसपी सापकोटाले जानकारी दिए ।