Monday, September 28, 2026
Home राजनीति माओवादीहरूलाई मुद्दा हाल्नु विस्तृत शान्ति सम्झौताको विपरीत

माओवादीहरूलाई मुद्दा हाल्नु विस्तृत शान्ति सम्झौताको विपरीत

62

काठमाडाैँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरु विस्तृत शान्ति सम्झौताको मर्म र भावना अनुसार अगाडि बढाउनुपर्ने बताएका छन्। शनिबार जनकपुरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपाध्यक्ष सापकोटाले नेपाल सरकार र तत्कालिन माओवादी पार्टीका बीचमा २०६३ साल मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताका अनुसार संक्रमणकालीन न्यायको विषय अगाडि बढ्नुपर्ने बताएका हुन्।

उनले विस्तृत शान्ति सम्झौतामा सत्य निरूपण तथा मेलमिलाप आयोग गठन गरेर शान्ति प्रक्रियाका काम टुंग्याउने भनिएको उल्लेख गर्दै सोही अनुरूप हुनुपर्ने बताए। द्वन्द्वकालका घटनाहरूको मुद्दा सर्वोच्च अदालतमा दर्ता हुनु विस्तृत शान्ति सम्झौताको विपरीत भएकाे उनकाे भनाइ छ।

उपाध्यक्ष सापकाेटाले भने, ‘यो मुद्दाको कुरा २०६३ साल मंसिर ५ गते नेपाल सरकार र माओवादीका बीचमा भएको विस्तृत शान्ति सम्झौताको विपरीत छ। त्यहाँ यी विषयहरू सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्ने भनिएको छ। आयाेग गठन भएको छ। त्यसले काम पनि सुरुवात गरिरहेको छ। संविधान बाहेक अन्य तरिकाले शान्ति प्रक्रियाको मर्म, भावना, संक्रमणकालिन न्यायको पद्धति, प्रक्रिया विपरीत जाँदाखेरी यसले शान्ति प्रक्रियालाई असर पुर्‍याउँछ। शान्ति प्रक्रियालाई कार्यान्वयन गर्न र निष्कर्षमा पुर्‍याउन सहयोग पुग्दैन। परिवर्तनमा नेपाल आमाका छोराछोरीहरूले ठूलो याेगदान गरेका छन्। यो परिवर्तनलाई असर पर्नेखालका गतिविधिहरू हुनु हुँदैन। विस्तृत शान्ति सम्झौताको मर्म र भावना अनुसार नै अगाडि बढ्नुपर्छ। त्यसअनुसार सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत नै यस्ता संक्रमणकालिन न्याय सम्बन्धि विषयहरु समाधान गरिनुपर्छ।’