विश्वकपपछि महेन्द्र सिंह धोनीले संन्यास लिने !

266

एजेन्सी, असार १९,
काठमाडौं । क्रिकेट विश्वकपमा महेन्द्र सिंह धोनीले सुस्त गतिमा ब्याटिङ गरेको भन्दै क्रिकेट विज्ञ र प्रशंसकहरूले लगातार आलोचना गरिरहेका छन् । यसबीच विश्वकप लगत्तै धोनीले क्रिकेटबाट संन्यास लिने खबर भारतीय सञ्चारमाध्यमहरूमा आएका छन् । बीसीसीआईका एक अधिकारीले धोनी विश्वकपमा नै अन्तिम खेल खेल्ने र त्यसपछि संन्यास लिने दाबी गरेका छन् । विगत केही समययता धोनीको आलोचना भइरहेको छ । उनले सुस्त गतिमा खेल्दा भारतलाई गाह्रो परेको बताइएको छ ।

विगत एक वर्षदेखि उनले राम्रो फिनिशरको भूमिका निर्वाह गर्न नसकेको बताइएको छ । त्यसो त विश्वकपमा छानिनुअघि नै उनले यो प्रतियोगितापछि संन्यास लिने अनुमान गरिएको थियो । बीसीसीआईका एक वरिष्ठ अधिकारीले नाम नबताउने शर्तमा पीटीआई समाचार संस्थालाई भने, ‘धोनीको बारेमा केही भन्न सकिन्न । तर विश्वकपपछि उनले खेल जारी नराख्ने सम्भावना छ । उनले क्रिकेटका तीनै फर्ममा कप्तानी नगर्ने फैसला अचानक लिएका थिए । त्यसैले उनका बारेमा भविष्यवाणी गर्न एकदम गाह्रो छ ।’

अफगानिस्तानविरुद्धको खेलमा ५२ बलमा २८ रन बनाउँदा धोनीको कडा आलोचना भएको थियो । प्रशंसक मात्र नभई सचिन तेन्दुलकर समेत निराश बनेका थिए । इंग्ल्यान्डविरुद्ध अन्तिम ओभरमा ठूला शट नहानेको भन्दै धोनीको आलोचना भएको थियो । विश्वकपमा स्पिनरहरूले धोनीलाई अत्याइरहेका छन् । बंगलादेशविरुद्धको खेलमा पनि धोनी सहज देखिएका थिएनन् ।