एजेन्सी, असार १८,
काठमाडौँ । उत्तर कोरियाबारे धेरै कुरा बाहिर आउँदैनन् । त्यसैले धेरैले उत्तर कोरियाबारे विभिन्न अनुमान गर्छन् र हामीले त्यसैलाई हो भनेर पत्याइदिन्छौं । उत्तर कोरिया र अमेरिकाबीच दुई पटक शिखर वार्ता भएका छन् भने १४ वर्षपछि चिनियाँ राष्ट्रपति सी जिनपिङले भ्रमण गरेका छन् । तर यसबारेमा उत्तर कोरियाली जनता के सोचिरहेका होलान् भन्ने कसैलाई जानकारी छैन । उत्तर कोरियामा किम जोङ उनको कडा शासन रहेको छ । त्यसैले त्यहाँका जनताको बाहिरी संसारसँग त्यतिसारो सम्पर्क हुँदैन ।
कतिपयले उत्तर कोरियालाई एक्लिएको र वर्तमान युग अनुकुल नभएको समेत भन्छन् । तर उत्तर कोरिया आफैंमा त्यस्तो छैन । उत्तर कोरियाले २१ औँ शताब्दीमा समाजवादी यात्रामा रहेको बताउने गरेको छ । उत्तर कोरियामा समाजवादको यात्रा कसरी अघि बढिरहेको छ भनेर मापन गर्ने कुनै ठोस आधार त छैन, तर राज्यको कडा अनुशासनभित्र जनतालाई समान काम, समान माम, अनिवार्य श्रम गर्नुपर्नेजस्ता व्यवस्थाहरु छन् । किम इल–सङले सन् १९४८ मा उत्तर कोरियाको स्थापना गरेका हुन् । कम्युनिस्ट पार्टीको रुपमा वर्कस् पार्टी भएपनि त्यहाँ हालसम्म बुवाबाट छोरामा सत्ता हस्तान्तरण भइरहेको छ ।
किम इल–सङपछि किम जोङ इल र हाल किम जोङ उन उत्तर कोरियाको नेता छन् । उही अवधिमा कोरिया विभाजनबाट बनेको दक्षिण कोरियामा ६ वटा गणतान्त्रिक शासन, एउटा क्रान्ति, केही ‘कू’ त्यसपछि फेरि संक्रमणकाल र अहिले निर्वाचित सरकार रहेको छ । दक्षिण कोरियामा हालसम्म १२ जना राष्ट्रपतिले १९ कार्यकालको शासन गरे । सन् २०१५ को तथ्यांक अनुसार उत्तर कोरियामा ३० लाख र दक्षिण कोरियामा ५ करोड ८९ लाख मोबाइल ग्राहक छन् । ३० लाख मोबाइल फोन भनेको धेरै जस्तो देखिन सक्छ । तर २ करोड ५० लाख जनसंख्या भएको उत्तर कोरियामा हरेक १० मध्ये एक जनासँग मात्रै मोबाइल छ । मोबाइलका अधिकांश प्रयोगकर्ताहरू राजधानी प्योङयाङका छन् । जन्स हप्किन्स् विश्वविद्यालयस्थित अमेरिका–कोरिया संस्थाले गरेको एउटा अध्ययनले उत्तर कोरियालीहरूले समय थप्नुभन्दा नयाँ ग्राहक बन्नु फाइदाजनक हुने हिसाब निकालेका कारण पनि मोबाइल प्रयोग गर्नेको संख्या बढेको हुनसक्ने देखाएको छ ।
उत्तर कोरियालीहरुलाई राष्ट्रको ‘निजी इन्टरनेट’ मात्र प्रयोग गर्ने अनुमति दिइएको छ । निजी इन्टरनेट सेवा प्रभावकारी र राष्ट्रव्यापी रूपमा सञ्चालित सीमित स्थानीय नेटवर्कमा मात्र काम गर्न सक्ने इन्ट्रानेट हो । सन् २०१६ को मा सार्वजनिक भएको एक प्रतिवेदनका अनुसार उत्तर कोरियामा जम्मा २८ वटा डोमेनमात्रै दर्ता भएका छन् । यहाँको अर्को विशेषता भनेको त्यहाँका मान्छेको उचाई हो । उत्तर कोरियाका पुरुषहरू औसतमा दक्षिणका भन्दा होचा हुने गरेको पाइन्छ । सोलस्थित सुङकुन्वाङ विश्वविद्यालयका प्राध्यापक ड्यानियल स्वेचवेकेनडिएकले उत्तर कोरियाली शरराणर्थीहरूले दक्षिण कोरियाको सीमा पार गर्दा उनीहरूको उचाइको अध्ययन गरेका थिए । दुई कोरियाली मुलुकका पुरुषहरूको उचाइ औसतमा ३।८ सेन्टिमिटरको फरक रहेको पत्ता लगाएका थिए । उनी उचाइमा भिन्नताको कारण वंशाणुगत हुन नसक्ने बताउँछन् । खाद्यान्नको अभावका कारण नै सामान्यतया उत्तर कोरियालीहरू होचो हुने गरेको बताइन्छ । जुन कुरा पत्याउन कठिन हो ।
उत्तर कोरियाबाट देखाइने दृश्यहरूमा राजधानी प्योङयाङका सडकहरू चिल्ला र फराकिला हुने गर्छन् । यी सडक सवारीसाधनले टनाटन भरिएका पनि हुँदैनन् । तर शहर बाहिरको कथा अर्कै छ । सन् २००६ को आँकडाअनुसार उत्तर कोरियासँग करिब २५,५५४ किलोमिटर लामो सडक छ । त्यसमध्ये जम्मा ३ प्रतिशतमा मात्र कालोपत्रे गरिएका छन् । हरेक हजार उत्तर कोरियालीमध्ये केवल ११ जनाको मात्र मोटरको स्वामित्व छ भन्ने अनुमान गरिएको । उत्तर कोरियाको अर्थतन्त्र डुब्नबाट बचाउनका लागि कोइला निर्यातमै भर पर्छ तर यसको सही मापन गर्न गाह्रो छ, किनभने यसको तथ्यांक कोइला आयात गर्ने राष्ट्रहरूबाट प्राप्त हुन्छ ।
उत्तर कोरियाबाट धेरै कोइला चीन निर्यात हुन्छ, जसले सन् २०१७ फ्रेबुअरीदेखि उत्तर कोरियाबाट हुने आयात प्रतिबन्ध ग¥यो । हालै भएको चीनका राष्ट्रपतिको भ्रमणबाट दुई देशबीचको सम्बन्धमा नयाँ पन आउने विश्वास लिइएको छ । प्रिन्सटन इन्स्टिच्युट फर इन्टरन्यासनल इकोनोमिक्सका अध्ययन विश्लेषक केन्ट बोइडस्टन भन्छन्, ‘प्रतिबन्धपछि पनि उत्तर कोरियाली पानी जहाजहरु चीन बन्दरगाहको कोइला टर्मिनलमा रोकिएको देख्ने मानिसहरु छन् । म ठान्दछु चीनले कोइला आयात रोकेको छ तर पूर्ण रूपमा भने होइन ।’ सन् १९७३ सम्म सम्पत्तिको आधारमा उत्तर र दक्षिण कोरिया निकै समान थिए । त्यस यता दक्षिण कोरियाले ठूलै छलाङ् मा¥यो । अहिले प्रमुख औद्योगिक उत्पादक बनेको छ । सामसुङ र हुन्डाईजस्ता उसका कम्पनी विश्वब्रान्ड बनेका छन् । उत्तर कोरिया सन् १९८० को दशकदेखि स्थिर रह्यो जब ऊ कठोरताका साथ राज्यद्वारा सञ्चालित प्रणालीमा अड्कियो ।
जनसंख्याको आधारमा उत्तर कोरिया ५२ औँ ठूलो देश हो र ऊसँग विश्वकै चोथौ ठूलो सैनिक भएको ठानिन्छ । उत्तर कोरियामा सैनिकमाथि राज्यको कुल गार्ह्रस्थ उत्पादनको २५ प्रतिशत खर्च हुने गरेको अनुमान गरिएको छ । हरेक उत्तर कोरियाली पुरुषले कुनै न कुनै किसिमको सैन्य प्रशिक्षण गरेकै हुन्छ । सन् १९९० ताका भएका शृंखलाबद्ध भोकमरीका कारण उत्तर कोरियालीहरूको औसत आयु स्वात्तै घट्यो । यो कारण बाहेक पनि उत्तर कोरियालीहरूको औसत आयु करिब १२ वर्ष कम छ । उत्तर कोरियामा खाद्यान्नको अभाव छ र दक्षिण कोरियालीहरू उनीहरभन्दा बढी बाँच्नुको पछाडिका अन्य थुप्रै कारणमध्ये यो पनि एक हो । सन् २०१७ मा दक्षिण कोरियाको जन्मदर अहिलेसम्मकै सबैभन्दा कम थियो । दशकयता उसले घट्दो जन्मदर बढाउन संंघर्ष गरिरहेको छ । बच्चाले पाउने सुविधा, बच्चाको जन्मपछि बाबुआमाले पाउने बिदा लगायतका अन्य सुविधा र बाँझोपनको उपचारका लागि दक्षिण कोरियाले करिब ७० अर्ब अमेरिकी डलर खर्च गरिसकेको छ । उत्तर कोरियामा भने जन्मदर बढी छ ।- बीबीसी