स्वतन्त्रता दिवसको कार्यक्रममा भागदौड मच्चिदा १६ जनाको मृत्यु

154

एजेँसी, असार १२,
काठमाडौँ । स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा भागदौड मच्चिदा पूर्वी अफ्रिकी देश म्याडागास्करमा १६ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ५९ औं स्वतन्त्रता दिवसका अवसरमा आयोजित परेड हेर्न महामसिना रंगशालामा हजारौंको संख्यामा सर्वसाधारण उपस्थित थिए ।सैनिक परेड सकिएपछि रंगशालामा भागदौड मच्चिएको जनाइएको छ । घटनामा अन्य ७५ जना घाइते भएका छन् ।

म्याडागास्करका राष्ट्रपति आन्द्रे रजोलिना र आमन्त्रित मुख्य अतिथि रुवान्डाका राष्ट्रपति पल कागामे उक्त समारोहमा उपस्थित थिए । उनीहरु दुबैले राष्ट्रपति निवासमा आयोजित पत्रकार सम्मेलनमा घटनाप्रति दुःख प्रकट गरेका छन् । राष्ट्रपति रजोलिनाले घाइतेहरुको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने बताउनुभएको छ ।

केही महिना पहिले पनि महामसिना रंगशालामा यस्तै भागदौड मच्चिदा केही व्यक्तिको मृत्यु भएको थियो । गत वर्ष सेप्टेम्बर ९ मा यही रंगशालामा आयोजित म्याडागास्कर र सेनेगलबीचको फुटबल प्रतियोगितामा भागदौड मच्चिएको थियो ।