नयाँ पत्रिका दैनिक
असार १२, काठमाडौं । तिब्बतबाट काठमाडौंसम्म रेलमार्ग बनाउने प्रतिबद्धता चीनले पटकपटक व्यक्त गरेको छ । तर, यसमा हतार नगर्न र प्रचारमा भन्दा काममा विश्वास गर्न नेपाललाई फेरि सतर्क गराएको छ । रेलको विषयमा थोरै काम र धेरै प्रचार भएकोमा चीनको गुनासो छ । ५ असारमा बेइजिङमा भएको नेपाल–चीन रेल्वे वार्तामा चीनले नेपाली पक्षलाई स्पष्ट पारेको छ– ‘रेल सम्भव छ, तर हतार नगरौँ ।’ नेपालको पक्षबाट भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्की र चीनबाट त्यहाँको राष्ट्रिय रेल प्रशासनका उपप्रशासक आन लुसङले वार्ताको नेतृत्व गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको चीनको राजकीय भ्रमणमा राष्ट्रपति सी जिनपिङले राजनीतिक प्रतिबद्धता व्यक्त गर्दै आएका छन् । तर, प्राविधिक रूपमा रेलमार्ग निर्माण सहज नभएको भन्दै चिनियाँ पक्षले संयमित भएर काममा ध्यान दिन सुझाब दिएको छ । ‘नेपालबाट वा चीनबाट हुने उच्चस्तरीय भ्रमणका सिलसिलामा आयोजनाको घोषण हुन सक्छ, तर अहिले नै हतार गर्नु उचित हुँदैन,’ चिनियाँ पक्षको भनाइ छ ।
१४ वैशाखमा बेइजिङमा आयोजित बिआरआई फोरमको सम्मेलनपछि ३८ देशका राष्ट्रप्रमुखको संयुक्त वक्तव्यमा ‘नेपाल–चीन हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल’ले स्थान पाएपछि नेपाल सरकार उत्साही भएको हो । सम्मेलनमा राष्ट्रपति भण्डारी सहभागी थिइन् ।