आइएनजिओको पैसामाः वन मन्त्रालयमा विदेश भ्रमण मोह

93

असार ९,
काठमाडौं । वन तथा वातावरण मन्त्रालयका उच्चपदस्थका लागि विदेश पानीपँधेरो हुने गरेको छ । गत एक वर्षमा कार्यक्रममा सहभागी हुने नाममा कर्मचारीहरू सातपटकसम्म विदेश गएका छन् । उनीहरू प्रायः दातृ निकाय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ९आइएनजिओ०को पैसामा विदेश सयर गर्ने गर्छन् । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नै एक वर्षमा चारपटक विदेश यात्रा गरे । उनी बेलायत, इथियोपिया, पोल्यान्ड र अस्ट्रेलिया पुगे । उनी एकपटक मात्र सरकारी खर्चमा विदेश गएका हुन् भने तीनपटक आइएनजिओको पैसामा ।

यस्तै, सचिव डा. विश्वनाथ ओली पाँचपटक विदेश गए । उनले थाइल्यान्ड, जापान, श्रीलंका र दुईपटक दक्षिण कोरियाको भ्रमण गरे । पाँचैपटक उनी दातृ निकायको पैसामा विदेश गएका हुन् । अहिले वन तथा वातावरण मन्त्रालयमा मात्रै १६ वटा दातृ निकाय र १५ वटा आइएनजिओले काम गरिरहेका छन् । मन्त्री र कर्मचारी कर्मचारी दातृ निकाय र आइएनजिओका कन्सल्ट्यान्ट बसेका छन् । त्यसैले ती संस्थाले मन्त्री र कर्मचारीलाई कार्यक्रमका नाममा विदेश घुमाउने गरेका छन् । यसरी विदेश भ्रमणको लोभमा सचिव र सहसचिव जुनसुकै कार्यक्रममा सहभागी हुन जाँदा देशको नूरसमेत गिर्ने गरेको वन तथा वातावरण मन्त्रालयका एक कर्मचारीले बताए ।

सबैभन्दा धेरै विदेश घुम्नेमा सहसचिव ढुंगाना र ढकाल
वन तथा वातावरण मन्त्रालयबाट सबैभन्दा धेरै विदेश घुम्ने कर्मचारीमा सहसचिव सिन्धुप्रसाद ढुंगाना र डा. महेश्वर ढकाल छन् । दुवैजना एक वर्षकमा सातपटक विदेश गइसकेका छन् । ढुंगानाले इटली, मंगोलिया, मोरक्कोको एक–एकपटक तथा जर्मनी र अमेरिकाको दुई–दुईपटक भ्रमण गरेका थिए । यस्तै, ढकाल एक वर्षको अवधिमा थाइल्यान्ड, पोल्यान्ड, इथियोपिया, डेनमार्क, जापान, मोरक्को र जर्मनी पुगेका थिए ।