बिहारमा इन्सेफ्लाइटिसको महामारी फैलियो १ सयजना उच्चस्तरीय स्वास्थ्य अधिकारी फिल्डमा

218

एजेन्सी, असार ३,
भारत सरकारले इन्सेफ्लाइटिसको महामारीबाट १०० जना भन्दा बढी बालबालिकाको ज्यान गएपछि भारत सरकारले करिब १०० जना स्वास्थ्य अधिकारी बिहारको उक्त प्रभावित क्षेत्रमा पठाएको छ । भारतीय पूर्वी राज्य बिहारहको मुजफ्फरपुर जिल्लामा इन्सेफ्लाइटिसको प्रकोप बढेको हो । उक्त जिल्लामा मात्र यस प्रकोपबाट १०० जनाभन्दा बढी बालबालिकाको ज्यान गएको बताइएको छ ।

त्यहाँको राज्य सरकारलाई औषधि उपचारका साथै रोगजन्य विषयमा आवश्यक सहयोग र अनुसन्धान गर्नका लागि उक्त उच्चस्तरीय टोली त्यसतर्फ पठाएको बताइएको छ । बिहार सरकारको स्वस्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार उक्त महामारीको नियन्त्रणका लागि भारतको केन्द्रीय सरकारले बिहारको उक्त जिल्लाका विभिन्न स्थानमा अत्याधुनिक प्रयोगशालाहरु पनि राखेको छ । उक्त मन्त्रालयले पछिल्लो समयमा बिहारका अरु जिल्लामा पनि यस प्रकोपको खतरा बढ्दै जाने आशंका उत्पन्न भइरहेकोले अरु जिल्लामा पनि यस्तो खालको प्रयोगशाला राख्ने जानकारी गराएको बतायो ।

भारत सरकारका स्वास्थ्यमन्त्री हर्ष वर्धनले बिहारमा देखिएको उक्त महामारीको नियन्त्रणका लागि सरकारले आवश्यक पहल गरेको जानकारी दिए । उनले बिहार सरकारले विभिन्न स्थानमा अनुसन्धान केन्द्र तथा प्रयोगशाला राखेर काम गरिरहेको जानकारी पनि दिनुभएको समाचारमा जनाइएको छ । सोमबार मात्र भारतीय समाचारदाताहरुसँग कुरा गर्दै स्वास्थ्यमन्त्री हर्षवर्धनले केन्द्र सरकारले उक्त महामारी नियन्त्रणका लागि र प्रभावितहरुको उपचारका लागि आवश्यक सहयोग गरिरहेको जानकारी गराए । उनले भने– हामीले यस महामारीको अवस्थाको निकै गहिरोसँग अनुगमन गरिरहेका छौँ र के कति कारणले यहाँ यो महामारी फैलिएको हो भन्ने बारेमा अनुसन्धानका लागि पनि हामीले पहल गरिहेका छौँ ।

श्रीकृष्ण मेडिकल कलेजका सुपरीन्टेन्डेन्ट सुनिलकुमार शाहीका अनुसार उपचारका लागि कलेजको अस्पतालमा भर्ना भएका ८३ बालबालिकाको मृत्यु भएको छ । मुजफरपुरकै केजरीवाल अस्पतालमा भर्ना भएका अरु १७ बालबालिकाको मृत्यु भएको छ । इन्सेफलाइटिसबाट मृत्यु भएका व्यक्तिका परिवारलाई जनही चार लाख भारतीय रुपैयाँ उपलब्ध गराउने विहारका मुख्यमन्त्री नितिश कुमारले घोषणा गरिसकेका छन् । मुख्यमन्त्री नितिशकुमारले रोगविरुद्ध लड्न सबै स्वास्थ्य निकायहरुलाई सक्रियतापूर्वक काममा जुट्न निर्देश गरेका छन् । इन्सेफलाइटिस भएमा यसले उच्च ज्वरो आउने, टाउको दुख्ने र पक्षाघात समेत हुने गर्दछ । गत साता विहारका स्वास्थ्यमन्त्री मङ्गल पाण्डेले विज्ञहरुको टोलीले इन्सेफलाइटिस रोग लाग्नुका मुख्य कारणहरुको पहिचान गरेको बताएका थिए । –एएफपी