असार ३,
सल्यान । छत्रेस्वरी गाउँपालिका ३ झिम्पेको मुलखोलामा रहेको वडा कार्यालयमा आगजनी भएको छ । सोमबार राति दुई बजे भएको आगजनीका कारण दुई कोठे रहेको वडा कार्यालयमा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ । आजगनीका कारण भएको क्षतिको विवरण आउन बाँकी छ । आगजनीबाट प्रशासन र प्राविधिक कोठामा रहेका सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरबहादुर खड्काले आगजनीको कारण खोजी भैरहेको र क्षतिको मुचुल्का उठाउँदै गरेको बताए ।
वडा अध्यक्ष राजबहादुर बुढाथोकीले कार्यालयका पाँच दराज, कागजपत्र, ल्यापटप, कम्प्युटर, फोटोकपी मेसिन, सोलार प्यानल, कुर्सि, कार्पेट, लगायत सबै सामग्री जलेको बताए । कार्यालयमा कसैले आगो लगाएको हुनसक्ने उनले जानकारी गराए । आगजनीबाट सबै सामान जलेपछि कामकाज कसरी गर्ने अन्यौल भएको उनले बताए । आगजनी भएको थाहा भएपछि स्थानीयले आगो निभाएको ज्ञानबहादुर खड्काले बताए । ‘राति दुई बजे कार्यालयका कार्यालय सहयोगीले वडा कार्यालयमा आगलाागी भएको छ भनेर फोन गरे । गएर हेर्दा सबै सामग्री जलेर नष्ट भैसकेको थियो’ उनले भने ।