प्रधानमन्त्रीकै पार्टीभित्र रहेर फरक मत राख्ने साथीहरु पनि होसियार : नेता गगन थापा

231

असार १,
काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन कुमार थापाले संसदबाट पास गराउन खोजिएको विधेयक कार्यान्वयनमा आए कुनै पनि व्यक्ति सुरक्षित नहुने बताएका छन् ।संसदको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद थापाले सूचना प्रविधि विधेयकको विरोध गरे ।
आफ्नो आलोचना सहन नसक्ने सरकारले अभिव्यक्ति स्वतन्त्रताको हक उपयोग गर्ने व्यक्तिलाई जेल हाल्ने गरी सूचना प्रविधि विधेयक ल्याएको उल्लेख गर्दै थापाले उक्त विधेक पारित भए आलोचनात्मक चेतना भएका कुनै पनि व्यक्ति सुरक्षित नहुने बताएका हुन् ।

संविधानले अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक हकको रुपमा स्थापित गरे पनि सरकाले भने त्यसलाई हरण गर्न खोजेको थापाको भनाइ छ । ‘यहाँ त सरकारी संरक्षणमा व्यक्तिको आत्मसम्मान नै ध्वस्त गर्ने गरी गाली बेइज्जती गर्न पाउने, तर सरकारलाई मन नपरेको बेला गाली बेइज्जतीका नाममा जसको जहाँनेर, जतिखेर मन लाग्यो मुख थुन्न पाउने गरी सरकारले कानून बनाउन लागेको छ,’ आइतबारको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै थापाले भने, ‘संसदबाट पारित गर्न खोजिएको सूचना प्रविधि विधेयक भन्छ– कुनै पनि व्यक्तिलाई जिस्क्याउने, झुक्याउने, होच्याउने, हतोत्साही गर्ने, धम्क्याउने आसयले सामाजिक सञ्जालमा सन्देश सम्प्रेषित गरेमा ५ वर्ष कैद र १५ लाख जरिवानाको सजाय भोग्नुपर्ने छ ।’

सांसद थापाले कानूनमा अस्पस्ट र दुईअर्थी भाषाको प्रयोग गरिएको उल्लेख गर्दै भने, ‘जिस्क्याउने, झुक्याउने, होच्याउनेको परिभाषा के र?’ कानूनमा हुने यस्ता अस्पष्ट भाषाले अभिव्यक्ति स्वतन्त्रताको हकमा बन्जेज लगाउने भन्दै भारतको सर्वोच्च अदालतले भारतको सूचना प्रविधि ऐनको दफा ६६० (ए) लाई खारेज गरिएको उल्लेख गर्दै थापाले भने, ‘हाम्रोमा त भारतको भन्दा कठोर कानून बनाउन लागिएको छ ।’ सरकारले ल्याउन लागेको नयाँ कानूनअनुसार अब कुनै चलचित्रमा ब्यंग्यात्मक संवाद र दृश्य राखेमा पनि चलचित्रकर्मीहरुलाई ५ वर्षको सजाय हुनसक्नेतर्फ थापाले सचेत गराए ।