विद्युतीय कारोबार ऐनः अभिव्यक्ति स्वतन्त्रतामाथि तरबार

452

कान्तिपुर दैनिक

जेठ ३१, काठमाडौँ — युट्युबर प्रनेश गौतममाथि साइबर अपराधको मुद्दा चलाइएसँगै प्रहरीले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को दुरुपयोग गरेको भन्दै सार्वजनिक वृत्तमा चासो बढेको छ । गौतमको पक्राउले मानहानि र साइबर अपराध एउटै विषय होरहोइन भन्ने बहस मात्रै सुरु गरेको छैन, प्रहरीले अभिव्यक्ति स्वतन्त्रताविरुद्ध जान खोजेको संकेत गरेको शंका पनि उब्जिएको छ ।

मिलन भर्सेस गौतम
हास्यव्यंग्यात्मक सामग्री प्रसारण गर्ने युट्युब च्यानल मिम नेपालमार्फत चलचित्र वीरविक्रम–२ को भिडियो समीक्षा आएलगत्तै निर्माता एवं निर्देशक मिलन चाम्लिङ राईको उजुरीका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाले कमेडियन प्रनेश गौतमलाई पक्राउ गर्‍यो ।

एक सातापछि फिल्म निर्माता र निर्देशक राईलगायत टोलीले बुधबार पत्रकार सम्मेलन गर्दै स्पष्टीकरण दिने प्रयास गर्‍यो । राईले गौतम फिल्म समीक्षाका कारण नभई मानहानि, गाली बेइज्जत, रंगभेद र अपशब्द प्रयोग गरेकाले पक्राउ परेको दाबी गरे । गाली बेइज्जतीअन्तर्गत जाहेरी नदिई किन विद्युतीय कारोबार ऐनअन्तर्गत जाहेरी दिइयो भन्ने प्र्रश्नमा उनले भने, ‘हाम्रो चासो भनेको साइबर अपराध होइन, मानहानि मात्रै हो । प्रहरीमा दिएको निवेदनमा हामीले पाठ मात्रै पढाउन खोजेका हौं । यसलाई ठोक्नैपर्छ, हान्नैपर्छ भन्ने होइन ।’

उनले आफूले निवेदन मात्रै दिएको र प्रहरीले नै गौतमलाई विद्युतीय कारोबार ऐनअन्तर्गत पक्राउ गरेर थुनेको संकेत दिन खोजे । ‘पदाधिकारीहरूले भिडियो हेर्नुभयो । त्यसपछि प्रहरीले पेपर तयार पारे अनि त्यहीअनुसार कारबाही प्रक्रिया अगाडि बढ्यो,’ उनले भने । महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सहकुल थापाले भने निर्देशक राईले विद्युतीय कारोबार ऐनअन्तर्गत नै जाहेरी दिएको, त्यही जाहेरी जिल्ला अदालत काठमाडौंमा पेस गरेपछि पक्राउ पुर्जी आएको बताए