नेप्से सामान्य अंकले घट्दा ५० करोडमाथिको कारोबार

87

जेठ २९,
काठमाडौँ । सेयर बजारको परिसूचक नेप्से साढे ३ अंकले ओर्लिएको छ। आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि गृहकार्य चलिरहेका बेला नेप्से घटिरहेको छ। विगत दुई सातामा नेप्से ४७ अंकले घटिसकेको छ। आजको कारोबारपछि नेप्से १२७२ अंकमा कायम भएको छ। यस दिन १७४ कम्पनीके ५० करोड २६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो।

बजेटलाई लगानीकर्ताले उत्साहप्रद भन्दै व्याख्या गरे पनि बजेटपछि बजार घटिरहेको छ। आगामी मौद्रिक नीतिले बैंकहरुको स्प्रेड दर घट्न सक्ने र यसले नाफामा असर पर्न गई बजार प्रभावित हुन सक्ने त्रास लगानीकर्तामा छ। यस दिन होटल ६, व्यापार ११ र अन्य समूह १ अंकले बढे भने अरु सबै घटेका छन्। बैंकिङ ३, विकास बैंक ४, जलविद्युत ३, फाइनान्स १, निर्जीवन बीमा ६१, उत्पादन २, माइक्रोफाइनान्स ७, जीवन बीमा २७ र म्युचुअल फण्ड ०. १५ अंकले घटेका छन्।

यस दिन कारोबारका आधारमा ग्लोबल आइएमई बैंक (संस्थापक समूह) अग्रस्थानमा रह्यो। सो कम्पनीको ७ करोड बराबरको कारोबार भयो। शिवम् सिमेन्ट, प्रभु, एनसीसी बैंकको सेयर कारोबार पनि उच्च रह्यो। साल्ट ट्रेडिङ कर्पोरेसनको मूल्य यस दिन १० प्रतिशतले बढ्यो भने नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले सबैभन्दा बढी ७ प्रतिशत गुमाए।