सरकारले ल्याएको बजेटमा सत्तारुढ सांसदकै मौन विरोध

277

जेठ २८,
काठमाडौँ । सरकारले ल्याएको बजेटमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीकै सांसदले विरोध जनाएका छन्। कैलालीबाट निर्वाचित सांसद झपट रावलले मंगलबारको बैठकमा रोस्टममा मौन उभिएर सांकेतिक विरोध जनाए। सभामुख कृष्णबहादुर महराले ‘रेष्ट’ लिँदा जेष्ठ सदस्य राधा ज्ञवालीले संसद सञ्चालन गरिरहेकी थिइन्। ज्ञवालीले ६ मिनेट समयसहित रावललाई बोल्नका लागि रोस्टममा बोलाइन्।

रोस्टममा पुगेर रावलले भने, ‘सहरी विकास मन्त्रालय अन्तर्गत वार्षिक विकास कार्यक्रमका बारेमा बोल्न चाहन्छु’ भने। यति भनिसकेपछि रावल मौन बसे। करिब १ मिनेट मौन बसेपछि सभामुखको आसनमा बसेकी ज्ञवालीले सोधिन्ः

सभामुखको प्रश्नः माननीयज्यू के भयो? 

रावलको जवाफः केही नभएको हुनाले सभामुख महोदय नबोलेको ।

सभामुखः यसरी समयको सदुपयोग गर्ने की? 

रावलः किताबमा नअटेको हुनाले सभामुख महोदय?

सभामुखः माननीयको सांकेतिक विरोध भइसकेको छ, अब माननीयले समय लिनुहोस्, म अनुरोध गर्न चाहन्छु।

रावलः सभामुख महोदय, भए पो बोल्नु। 

यसको एक मिनेट मौन बसेर रावल बल्ल बोल्न थाले, ‘सभामुख महोदय! मै खाउ, मै लाउ। सुख सयल मै गरु। मै बाँचु, मै हाँसु। अरु सबै मरुन, दुर्बलहरु – जो म जस्ताहरु। यो सहरी विकास मन्त्रालयको बार्षिक लगायत जुन कार्यक्रम छ, पाना पाना पल्टाएर हेरे, बजेट आउनुभन्दा पहिला चैतमा मैले सहरी विकास मन्त्रालयको ढोका ढक ढक्याए। तर, मन्त्रालयको सबैभन्दा बढी लक्षित कार्यक्रममा पर्ने मेरो ठाउँमा यो मन्त्रालयको आँखा पुग्दैन। मन्त्री केन्द्रीत, नेता केन्द्रीत यो कार्यक्रम आएको हुनाले यो विभेदकारी छ। हुरी पीडितलाई राहत दिने कुरामा पनि यो सरकार कानमा तेल हालेर बसिरहेको छ। त्यसकारण सहरी विकास मन्त्रालयले ल्याएको बजेट (म अरु त केही भन्न सक्दिन। किनभने म सत्तापक्ष सांसद हुँ) घोर विभेदकारी, असमान छ। मन्त्रीको योग्यता देखेर दया लाग्छ।’

उनले कैलाली कञ्चनपुरका हुरी पीडितलाई राहतको प्याकेज घोषणा गर्न पनि माग गर्दै आफ्नो समय सक्काए। सांसद रावल बाेल्दा प्रतिपक्षी सांसदले ताली बजाएका थिए भने सहरी विकास मन्त्री इस्तियाक राइ, अर्थमन्त्री युवराज खतिवडा र खेलकुद मन्त्री जगत विश्वकर्मा मज्जाले हाँसेका थिए। सभामुखकाे जिम्मेवारी सम्हालिरहेकी ज्ञवाली पनि मुसुमुसु हाँस्दै के गर्ने भनेर संसद सचिवालयका कर्मचारीसँग खासखुस गरिरहेकी थिइन्।