४५ मेगावाटको विद्युत् निकाल्ने पुग्ने पैसा हरेक वर्ष कोरियन भाषा सिक्दा सकिन्छ

163

गोपाल साउद्र ( नयाँ पत्रिका)
काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत रोजगारीका लागि दक्षिण कोरिया जान यस वर्ष ८४ हजार दुई सय १४ जना युवा भाषा परीक्षामा सहभागी भएका छन् । शनिबार र आइतबार काठमाडौंका २१, ललितपुरका सात र पोखराका चार गरी ३२ केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । सन् २०२० मा कोरिया जान गत चैतमा ९२ हजार तीन सय ५६ जनाले आवेदन परीक्षाका लागि आवेदन दिएका थिए । तीमध्ये उत्पादनमूलक क्षेत्रमा ६३ हजार तीन सय ७० जना र कृषि तथा पशुपालन क्षेत्रका लागि २८ हजार आठ सय ३४ जनाले आवेदन दिएका थिए । आवेदन दिनेमध्ये आठ हजार एक सय ४१ जना भने अनुपस्थित रहेको वैदेशिक रोजगार विभागको इपिएस शाखाले जनाएको छ ।

कोरियाको मानव संसाधन विभागका महानिर्देशकको नेतृत्वमा ९७ जनाको टोली परीक्षा सञ्चालन गर्न नेपाल आएको छ । जसमध्ये ७२ जनाले काठमाडौं तथा ललितपुरमा र बाँकी २५ जनाले पोखरामा परीक्षा सञ्चालन गरेका थिए । वैदेशिक रोजगार विभागको इपिएस शाखाले परीक्षाको सहजीकरण गरेको थियो । दुई दिनमा अर्काको नाममा परीक्षा दिएको आरोपमा एक सय ५६ जना कारबाहीमा परेका छन् । भाषा परीक्षाका लागि उत्पादनमूलक क्षेत्रको पूर्णांक सय र कृषि तथा पशुपालन क्षेत्रतर्फ ९० पूर्णांकको परीक्षा लिइएको हो । जसमा सुनाइ र पढाइमा २०/२० गरी ४० प्रश्न समावेश गरिएको थियो । उत्पादनमूलक क्षेत्रतर्फ ४७ दशमलव पाँच र कृषि तथा पशुपालनतर्फ ३६ अंक ल्याउनेमध्ये उच्च अंक प्राप्त गर्नेबाट भाषा परीक्षामा उत्तीर्ण छनोट गरिने इपिएस शाखाका निर्देशक कृष्ण खनालले जानकारी दिए ।