जेठ २४,
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले यही जेठ २६ र २७ गते अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन गर्ने भएको छ। विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण विषयमा केन्द्रीत रहेर सम्मेलन गर्न लागिएको त्रिविका उपकुलपति तीर्थ खनियाले जानकारी दिए। सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नेछिन्। सम्मेलन ललितपुरस्थित होटल हिमालयमा हुने भए पनि उद्घाटन राष्ट्रपति निवास शीतलनिवासमा हुने खनियाको भनाइ छ।
त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीका अनुसार सम्मेलनमा पाठ्यक्रम र शिक्षण, अनुसन्धान र अविष्कार तथा उद्यमशीलता र ब्यवस्थापन गरी तीन मुख्य विषयमा प्रस्तुतीकरण हुनेछ। सम्मेलनमा नेपालसहित अमेरिका, बेलायत, फिनल्याण्ड, भारत, सिंगापुर र जापानका विश्वविद्यालयमा कार्यरत विषय विशेषज्ञहरुले ज्ञान र अनुभव बाँड्ने उनले बताए।