Friday, October 2, 2026
Home पत्रपत्रिका ल क्याम्पसको एलएलबी प्रथम वर्ष: दुई सय ४० लाई मात्र पढाउन सिफारिस

ल क्याम्पसको एलएलबी प्रथम वर्ष: दुई सय ४० लाई मात्र पढाउन सिफारिस

171

ईश्वरराज ढकाल ( नेपाल समाचारपत्र)
जेठ २३, काठमाडौं । नेपाल ल क्याम्पसको एलएलबी प्रथम वर्षमा यो वर्ष २ सय ४० जना मात्र विद्यार्थी भर्ना गर्न सिफारिस गरिएको छ। सर्वोच्च अदालतले जेठ ६ गते क्याम्पसको क्षमता, भौतिक अवस्था र शिक्षक संख्याको आधारमा भर्ना गर्न अन्तरिम आदेश दिएलगत्तै उक्त क्याम्पस प्रशासनले सहायक क्याम्पस प्रमुख नवीनकुमार सुब्बाको संयोजकत्वमा गठन गरेको अध्ययन समितिले यस्तो सुझाव दिएको हो।

समिति संयोजक सुब्बाले ४ वटा कोठामा ६० का दरले २ सय ४० विद्यार्थीलाई भर्ना गर्न सिफारिस गरिएको जानकारी दिनुभयो। ९३ शिक्षकको दरबन्दी रहेको उक्त क्याम्पसमा हाल ५४ जना स्थायी शिक्षक छन्। यसमा पनि ४७ जनाले मात्र पढाउने गरेका छन्। उक्त समितिले क्याम्पसको सम्पूर्ण भौतिक, प्रशासनिक र शैक्षिक विषयमा अध्ययन गरी करिब दुई साताअघि क्याम्पस प्रमुख डा। डीएन पराजुलीसमक्ष प्रतिवेदन बुझाएको थियो।

करिब १२ पेजको प्रतिवेदनमा हाल १ हजार ८ सय मात्र क्षमता रहेको उक्त क्याम्पसमा झन्डै ११ हजार विद्यार्थी भर्ना हुँदा अत्याधिक समस्या परेको उल्लेख गरिएको छ। क्याम्पस प्रमुख पराजुलीले समितिले दिएको प्रतिवेदन डीन कार्यालयमा पेस गरेको बताउँदै उक्त कार्यालयको सुझावअनुसार सर्वोच्चको आदेशमा टेकेर विद्यार्थी भर्ना गर्ने जानकारी दिनुभयो। डीन कार्यालयले सो प्रतिवेदन त्रिवि कार्यकारी परिषद्मा पेस गरेको बुझिएको छ। कानुन संकायका डीन डा। विजयसिंह सिजापतीले परिषद्कै निर्णयअनुसार भर्ना गरिने बताउनुभयो।