Saturday, October 3, 2026
Home पत्रपत्रिका अलपत्र विकाशः बेनी–जोमसोम–कोरला सडक निर्माण सुस्त

अलपत्र विकाशः बेनी–जोमसोम–कोरला सडक निर्माण सुस्त

203

नयाँ पत्रिका दैनिक

जेठ २३, म्याग्दी । दुई छिमेकी मुलक चीन र भारत जोड्ने राष्ट्रिय गौरवको आयोजनाकालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक स्तरोन्नतिको काम सुस्त भएको छ । आवश्यक जनशक्ति र उपकरण नहुँदा म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको सदरमुकाम जोमसोमसम्म कालोपत्रे र जोमसोमदेखि कोरला नाकासम्म ग्राभेल गर्ने काममा ढिलाइ भएको हो ।ढिलाइका कारण पारवहन र अन्तरदेश व्यापारिक हिसाबले महत्वपूर्ण मानिने कोरला नाकाको प्रमुख आधार मानिएको सडक आयोजना निर्धारित समयभन्दा पछि धकेलिने निश्चित भएको छ । म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी भन्छन्, ‘निर्धारित समयभित्र काम सम्पन्न नहुने खतरा बढेर गएको छ ।’

कुल ७६ किलोमिटरको बेनी–जोमसोममा चारवटा र ११० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डमा सातवटा प्याकेज बनाएर निर्माण कार्य अघि बढाइएको छ । तर, निर्माण कम्पनीहरूको ढिलासुस्तीका कारण आयोजनाको अहिलेसम्म तल्लो खण्डमा ५२ र माथिल्लो खण्डमा ८० प्रतिशत मात्रै काम सम्पन्न भएको आयोजनाका प्रमुख मुकुन्द अधिकारीले जानकारी दिए । बेनी–जोमसोम खण्डमा समयतालिका बनाएर सवारी आवागमन गर्ने गरी निर्माण कार्य भइरहे पनि अधिकांश ठाउँमा कामदार संख्या अत्यन्त कम देखिन्छ । उनीहरूलाई तत्काल जनशक्ति र उपकरण थप गर्न निर्देशन दिइएको म्याग्दीका प्रजिअ अधिकारीले जानकारी दिए । ‘

जनशक्ति न्यून
ठेकेदार कम्पनीले कामदार थप्न सकेका छैनन् । सडकमा समयतालिकाअनुसार सवारी रोकिन्छ, तर काम भने हुँदैन । ११ मिटर चौडा बनाएर बेनी–जोमसोम सडक कालोपत्रे र जोमसोम–कोरला सडकमा ग्राभेल बिछ्याइने योजना छ । बेनीदेखि मालढुंगा सडकलाई करिडोरका रूपमा स्तरोन्नतिका लागि हालै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट १० करोड बजेट विनियोजन भएको छ । उत्तर–दक्षिण जोड्ने यो सडकको कुल लम्बाइ चार सय ३५ किलोमिटर छ ।

कहाँ कति प्रगति ?
आयोजनाको गलेश्वरदेखि तातोपानीसम्मको ठेक्का लिएको शर्मा युनाइटेडले ४० प्रतिशत, तातोपानीदेखि घाँसासम्म शर्मा गजुरमुखीले ४२ प्रतिशत, घाँसादेखि कोवाङसम्म शर्मा गजुरमुखीले ४५ प्रतिशत र कोवाङदेखि जोमसोमसम्म पप्पु गौरी पार्वती कोसी एन्ड न्यौपाने जेभीले ५० प्रतिशत काम सकेका छन् ।

जोमसोमदेखि ताङ्वेसम्म बज्रगुरु खड्का कृष्ण जेभीले ८५ प्रतिशत,ताङ्वेदेखि चैलेसम्म दिवा डाँफे एपेक्स जेभीले ८२ प्रतिशत, चैलेदेखि भेनासम्म कन्टेक कान्छाराम कोसी एन्ड न्यौपानले ३५ प्रतिशत, भेनादेखि भैmटेसम्म कञ्चनजंघा लामा बिरुवाले ८० प्रतिशत, झैटेदेखि चराङसम्म कञ्चनजंघा लामा मोतीदान जेभीले ४५ प्रतिशतर चराङदेखि छोसेरसम्म तामाङ गौरी पार्वती कोसी एन्ड न्यौपाने जेभीले ६० प्रतिशत काम सकेका छन् । आयोजनामा कुल साढे सात अर्ब लागत अनुमान गरिएको छ । बेनीदेखि कोरला नाकासम्मको यस सडकखण्डमा विभिन्न ३५ ठाउँमा पक्की पुल निर्माण गर्नुपर्ने भए पनि १३ स्थानमा मात्र अहिले पुल बनिरहेका छन् ।