सिंहदरबारको चिठी कुपण्डोल पुग्न झन्डै तिन हप्ता लागेपछि…

174

जेठ १५,
काठमाडौँ । काठमाडाैंको सुन्धारा र ललितपुरको कुपण्डोलबीचको दूरी करिव तीन किलोमिटर छ । सुन्धाराबाट कोही मानिस हिँडेर कुपण्डोल जान खोज्यो भने लगभग आधा घण्टामा सजिलै पुग्नसक्छ । तर, त्यही सुन्धारामा केन्द्रीय कार्यालय रहेको हुलाकमार्फत कुपण्डोलमा पठाएको रजिष्टर चिठी पुग्न भने १८ दिन लाग्ने गरेको पाइएको छ । अझ उपत्यका भित्रका जिल्लामा त हुलाक सेवा विभागले एक दिनमै सेवा दिने दावी गर्दै आएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरवारले कुपण्डोलमा रहेको रातोपाटी कार्यालयमा पठाएको रजिष्टर गरिएको एउटा चिठी सुन्धाराबाट कुपण्डोल आइपुग्न १८ दिन लागेको हो । अझ रोचक त के छ भने बैशाख २३ गते सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले आयोजना गरेको कार्यक्रमका लागि पठाएको उक्त चिठी जेठ १३ गतेमात्रै कार्यालयमा आइपुग्यो । मन्त्रालयले चिठी पठाउन हुलाकलाई २८ रुपैयाँ तिरेको छ ।

हुलाक सेवा विभागका महानिर्देशक देवीप्रसाद ज्ञवालीले सेवा प्रवाहमा भएको ढिलाई कुनै प्राविधिक कारणले हुनसक्ने बताए । ‘उपत्यका भित्र एक दिनमै सेवा दिने हाम्रो लक्ष्य अनुसार काम भइरहेको छ । १८, १९ दिन लाग्ने भन्ने त कुरै छैन । ठेगाना पत्ता लागेन भने चाहीँ ढिलाई हुनसक्छ । यो प्राविधिक कारणमा पर्छ’ महानिर्देशक ज्ञवालीले रातोपाटीलाई बताए ।

सञ्चार मन्त्रालय अन्तर्गतको हुलाकको सेवा प्रवाहको यो त एक नमुना मात्रै हो । कुनैबेला नेपालमा सञ्चार आदानप्रदानका लागि अत्यन्तै भरपर्दो साधन मानिने हुलाक सेवा पछिल्लो समय निस्प्रभावी मात्रै होइन, यसको विश्वसनियतामाथि नै प्रश्न उठ्न थालेको छ ।

नेपालभर हुलाक सेवा प्रदान गर्न विक्रम संवत् १९३५ मा नेपाल हुलाक घरको स्थापना भई हुलाक सेवा प्रारम्भ भएको हो ।

हुलाक ऐन २०१९ कार्यान्वयनमा आएपछि सो ऐनद्वारा निर्धारित कार्यहरू हुलाक सेवा विभागले सम्पादन गर्दै आएको छ । प्रचलित कानुन र अन्तर्राष्ट्रिय सन्धी सम्झौताका आधारमा नेपाली जनतालाई शीघ्र तथा विश्वसनीय रूपमा चिठ्ठीपत्र पहूँच एवं धनादेश सूविधा प्रदान गर्नू विभागको प्रमूख उद्देश्य रहेको छ ।