Thursday, October 1, 2026
Home पत्रपत्रिका साइन्स पढेकी समाचारवाचिका

साइन्स पढेकी समाचारवाचिका

157

नारी संवाददाता,

सपना देख्नुपर्छ अनि मात्र त्यसलाई पूरा गर्ने दिशामा हामी अघि बढ्छौं भन्ने सोच राख्ने समाचारवाचिका हुन्–श्री पाण्डे । ३ वर्षदेखि टेलिभिजनमा समाचार भन्दै आएकी श्रीको प्रस्तुति, कन्फिडेन्ट तथा सुन्दरताका कारण उनका प्रशंसकको संख्या बढ्दो छ । सानैदेखि क्यामेराको अगाडि काम गर्ने रहर थियो उनमा । पाल्पाको सरकारी विद्यालयमा पढेकी पाण्डेको नेपाली लेखाइ र बोलाइ निकै आकर्षक थियो । त्यतिबेला टेलिभिजनमा रमा सिंह, मनीषा घिमिरेहरूको समाचार वाचन सुन्दै हुर्किएकी श्री एकदिन आफू पनि त्यसरी समाचार भन्छु भन्ने सपना बुन्थिन् ।

हुन त उनले ४ वर्षअघि म्युजिक भिडियोबाट यो क्षेत्रमा प्रवेश गरेकी हुन् उनी । पाण्डेले केही म्युजिक भिडियोमा काम गरिन् तर त्यसमा खासै खुसी अनुभव गरिनन् । हिमालयन टेलिभिजनमा समाचारवाचनका लागि आवेदन दिएकी पाण्डेले सयभन्दा बढी पत्रकारिता पढेकाहरूबाट छानिइन् । उनले पत्रकारितासम्बन्धी कुनै प्रशिक्षण लिएकी थिइनन् । उनको मुख्य प्लस प्वाइन्ट भन्नु नै प्रस्ट नेपाली बोल्न र लेख्न सक्नु थियो ।

अहिले पनि उनलाई सम्झना छ, पहिलोपल्ट समाचार भन्दा मुटुको धड्कन ठूलो स्वरले धड्किएको । त्यतिबेला उनी नर्भस, डर र खुसीको मिश्रित अनुभव गरिरहेकी थिइन् । पढाइ निकै राम्रो भएकाले उनको परिवार साइन्स पढेर उनी डाक्टर बनून् भन्ने चाहन्थ्यो । एमबीबीएसका लागि काठमाडौं आएपछि उनी आफ्नो सपना साकार बनाउनतर्फ लागिन् । माइक्रो बायोलोजीमा ब्याचलर सकेकी श्रीको परिवार अहिले भने खुसी नै छ । उनी अब मास कम्युनिकेसनमा मास्टर गर्ने योजनामा छिन् । माइक्रो बायोलोजी र लमा पनि क्रमश : मास्टर गर्ने योजना बनाइसकेकी छिन् । कसैलाई चित्त दुखाउन नचाहने श्रीले माइक्रो बायोलोजीमा मास्टर सकेर डाक्टर बन्नेहरूलाई पढाउने मनसाय बनाएकी छिन् ।

पुस्तक पढ्न, खाना बनाउन र मुडअनुसार संगीत सुन्न रुचाउने पाण्डे छिट्टै नेपालका टप लिडरहरूसँगको टक सो संचालनमा ल्याउने तयारीमा छिन् । अरु कामभन्दा समाचारवाचन निकै सिरियस जब हो भन्ने पाण्डेका अनुसार यो पनि एउटा अभिनय हो तर रियल देखिनुपर्छ । समाचारअनुसार एक्सप्रेसन र स्वर पनि त्यस्तै हुनुपर्छ–उनले बताइन् । हामीले लेखेको कुरा पढ्ने मात्र होइन, सम्पादन र रिपोर्टिङ समेत गर्न सक्नुपर्छ । श्रीका अनुसार कुनै पनि काममा दक्ष हुन पढाइ मात्र भएर हुँदैन त्यसप्रति रुचि र धैर्य पनि हुनुपर्छ अनि मात्र सफल हुन सकिन्छ ।

संयोजन : सिर्जना दुवाल श्रेष्ठ

तस्बिर : महेश प्रधान

पहिरन : रमिला नेमकुल, कासा, पाटनढोका

मेकअप तथा हेयर स्टाइल : मेकअप बाई रज्जु, दरबारमार्ग

लोकेसन : लेबल थ्री रेस्टुरेन्ट, लबिम मल

http://bit.ly/2HADdGI