धनगढी विमानस्थलमा उडान बन्द, नेपालगन्जमा जहाजको चाप

149

जेठ २,
नेपालगन्ज- धनगढी विमानस्थल बन्द भएपछि नेपालगन्जमा ठूला जहाजको चाप ह्वात्तै बढेको छ। मर्मत कार्य चलिरहेका कारण त्यहाँ करिव दुई सातादेखी धनगढी विमानस्थल पूर्ण रुपमा बन्द छ। नेपालगन्जबाट काठमाडौंका लागि अचेल दैनिक रुपमा १० वटा उडान हुने गरेको छ। नेपालगन्ज विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरले धनगढी विमानस्थल बन्द हुँदा लोड थपिएको बताए।

‘धनगढी विमानस्थलबाट सबै उडानलाई एअरलाइन्स कम्पनीले यहाँबाट गरिरहेका छन्,’ ठाकुरले भने। जहाजको चाप बढ्दा विमानस्थलका कर्मचारीको पनि ब्यस्तता बढेको छ। अचेल नेपालगन्ज विमानस्थलमा बिहानदेखी बेलुकासम्म काठमाडौंका लागि जहाज उपलब्ध हुन्छन्। नेपालगन्जबाट काठमाडौंका लागि यसअघि दैनिक ३ वटा उडान गर्ने बुद्ध एअरले अचेल दैनिक ४ वटा गरिरहेको छ। बुद्ध एअरका नेपालगन्ज प्रमुख विनित शाहका अनुसार बुद्धले बिहान ९:४५, दिउँसो २:२४, अपरान्ह ४:५० र बेलुका ६:२५ बजे उडान गरिरहेको छ। बुद्धले यसअघि धनगढीबाट दैनिक २ वटा उडान गर्ने गरेको थियो। ‘धनगढी विमानस्थलबाट हुने उडान अहिलनेपालगन्जबाट गरिरहेका छौं,’ उनले नागरिक भने ‘सुरुमा दैनिक ५ वटा सम्म उडान गर्‍यौं, यात्रुको संख्या कम भएपछि अहिले ४ वटा गरिरहेका छौं।’

नेपालगन्जबाट बुद्धसहित श्रीएअरले ३, यति एअरले २ र नेपाल एअरलाइन्सले एउटा उडान गरिरहेको विमानस्थल कार्यालयले जनाएको छ। श्रीएअरका नेपालगन्ज प्रमुख पर्शुराम चौधरीले धनगढी विमानस्थल बन्द भएपछि विगत दुई हप्तादेखी उडान तालिका फेरबदल गरिएको बताए। नेपालगन्जबाट यसअघि दैनिक २ वटा उडान गर्ने गरिएकोमा अहिले ३ वटा उडान हुने गरेको उनले सुनाए।

चौधरीका अनुसार श्रीएअरले नेपालगन्जबाट बिहान ९:२० बजे, दिउँसो १:४५ र अपरान्ह ५:१५ बजे दैनिक रुपमा उडान गरिरहेको छ। ‘हामीले धनगढीबाट दैनिक २ वटा उडान गथ्र्यौ, नेपालगन्जबाट पनि दुई वटा हुन्थ्यो,’ उनले भने ‘यात्रुको चापलाई हेरेर अहिले नेपालगन्जबाट दैनिक ३ वटा उडान गरिरहेका छौं।’ धनगढी विमानस्थल बन्द हुँदा कम्पनीले आर्थिक नोक्सानी बेहोरेपनि त्यहाँको उडानलाई नेपालगन्जबाट गरिदाँ थोरै राहत मिलेको चौधरीले बताए।

यति एअरले भने नेपालगन्जबाट दैनिक २ वटा उडान नियमित रुपमा गरिरहेको छ। यतिले दैनिक रुपमा बिहान १०:५० बजे र बेलुका ५:२० बजे उडान गर्ने गरेको छ। यति एअरका नेपालगन्ज प्रमुख दिलिप कार्कीका अनुसार यतिले दुई/तीन वर्ष यता धनगढी विमानस्थलबाट काठमाडौंका लागि उडान गर्न छाडेको छ। पछिल्लो समयमा नेपालगन्जबाट मात्र उडान गरिरहेको यतिले जहाजको संख्या थपिएसँगै नेपालगन्जबाट दैनिक ३ वटा उडान गर्ने योजना बनाएको कार्कीले जानकारी दिए।Nagarik