प्रिमियरमा ‘बीर विक्रम २’ को प्रशंसा, वर्षाको पहिरनमाथि सबैको नजर

188

जेठ २,
काठमाडौँ ।यही शुक्रवारबाट देशभर प्रदर्शनमा आउन लागेको फिल्म ‘बीर विक्रम २’ को रिलिजको पूर्वसन्ध्यामा भब्य प्रिमियर गरिएको छ । बुधवार राजधानीको कुमारी हलमा भएको फिल्मको ‘पर्पल कार्पेट प्रिमियर’ मा फिल्मकर्मी र पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो । ‘रोयल प्रिमियर’ को नाम दिइएको उक्त प्रिमियरमा अभिनेत्री वर्षा सिवाकोटी आकर्षणको केन्द्रविन्दु बनेकी थिइन् ।

लामो पिङ्क गाउनमा प्रिमियरमा पुगेकी वर्षाको पहिरनमाथि सबैको नजर अडिएको थियो । उनी राजकुमारीझैँ देखिएकी थिइन् । फिल्मका अभिनेता द्वय पल शाह र नाजिर हुसेन भने सुटमा ठाटिएका थिए । फिल्ममा नेगेटिभ रोलमा रहेका कलाकार बुद्धि तामाङ पनि ब्ल्याक सुटमा प्रिमियरमा उपस्थिति भएका थिए । निर्देशक मिलन चाम्सले भने दौरा-सुरुवालमा रातो रंगको कोट लगाएका थिए ।

करीब ३ सय बढी फिल्मकर्मीहरुको उपस्थिति रहेको प्रिमियरमा फिल्मका प्रमुख कलाकारहरुलाई ब्यान्ड बाजासहित प्रवेश गराइएको थियो । साथै, निर्माण टिमले फिल्मका प्राविधिकहरुलाई सम्मान स्वरुप मायाको चिनो प्रदान गरेको थियो । आफू निर्देशित फिल्मको घोषणादेखि प्रिमियरसम्म तामझामले गर्ने चाम्सले नेपालमा पहिलो पटक ‘रोयल प्रिमियर’ गरेका हुन् ।

प्रिमियरमा शिव श्रेष्ठ, भुवन केसी, पूजा शर्मा, सन्दीप क्षेत्री, अनु शाह, प्रमोद खरेल, शिल्पा मास्के, तेरिया मगर, प्रशान्त ताम्राकार, कुञ्जना घिमिरेलगायतका कलाकारहरुले उपस्थिति जनाएका थिए । फिल्मले प्रिमियरमा मिश्रित प्रतिक्रिया बटुलेको छ । फिल्मलाई राम्रो/नराम्रो दुबैथरी प्रतिक्रिया मिलेको छ । अभिनेता भुवनले कलाकारको अभिनय र निर्देशक चाम्सको निर्देशकिय क्षमताको प्रशंसा गरे ।

उनले भने, ‘फिल्म फुलअन इन्टरटेनिङ छ । बुद्धिको त म फ्यान नै भएँ । उसको काम उम्दा छ । फिल्म हेरुन्जेल रमाइलो भयो ।’ यस्तै, अर्का अभिनेता शिवले धेरै वर्षपछि उत्कृष्ट फिल्म हेर्न पाएको बताए । उनले कलाकारको कामको पनि प्रशंसा गरे । अभिनेत्री शिल्पाले फिल्म इन्टरटेनिङ रहेको बताइन् । फिल्मले दर्शकलाई निराश नबनाउने उनको दावी छ । डान्सर तेरियाले पनि फिल्मको प्रशंसा गरिन् ।

पल र नाजिरकोे प्रगाढ मित्रतामा वर्षाको अगमनपछि आउने उचारचढावमा फिल्म केन्द्रित । प्रदीप भारद्धाजको कथामा बनेको ‘बीर विक्रम २’ का छायाँकार सुदीप बराल हुन् । अपर्ण सापकोटा निर्माता रहेको फिल्ममा देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बुलगायतका कलाकारहरुको अभिनय छ । फिल्ममा हिमाल केसीको द्वन्द्व छ ।filmykhabar.com