अख्तियारका पूर्व आयुक्त पाठक ७८ लाख धरौटीमा रिहा

87

जेठ २,
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक ७८ लाख रुपियाँ धरौटी बुझाएर रिहा भएका छन् । घुस काण्डमा मुछिएका उनलाई बुधबार विशेष अदालतले ७८ लाख रुपैयाँ धरौटी माग गरेको थियो । पाठकलाई बुधबार थुनछेक बहसपछि विशेष अदालतले धरौटी माग गरेपछि उनले नेपाल बंगलादेश बैंकको बैंक ग्यारेन्टी राखेका थिए ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्य तथा न्यायाधीशहरु द्धारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठको इजलासले धरौटी माग गरेको थियो । पाठकले भक्तपुरको नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाई दिने भन्दै ७८ लाख रुपैयाँ घूस लिएको भिडियो केही समय अगाडि सार्वजनिक भएको थियो । सो भिडियो सार्वजनिक भए पश्चात आयोगले पाठकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

भ्रष्टाचारको आरोप लागेपछि फरार रहेका पाठक बुधबार नै विशेष अदालतमा हाजिर भएका थिए ।विशेष अदालतले बुधबार नै पाठकसँग बयान लिएको थियो । उनी विरुद्ध आयोगले अनुसन्धान सम्पन्न गरे पछि गत चैत १२ गते विशेष अदालतमा मुद्दा दर्ता गराएको थियो। उनलाई अदालतले बयानका लागि बुधबार बोलाएको थियो । बयानमा भने उनले आफूलाई फसाउन खोजिएको भन्दै घुस नखाएको भन्दै जिकिर गरेका थिए । पाठकलाई घूस दिने चाँगुनारायण, भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपाने भने फरार रहेका छन्।-नेपाल समाचारपत्र