गौतमबुद्ध विमानस्थलको काम रोकिएपछि प्राधिकरणले दियो १० करोड

86

जेठ १,
काठमाडौँ । ठेकेदारलाई दिनुपर्ने भुक्तानी रोकिएपछि प्रभावित भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम सूचारु गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक स्रोतबाट रकम उपलब्ध गराएको छ । तत्कालका लागि १० करोड रुपैयाँको चेक ठेकेदार कम्पनीलाई उपलब्ध गराइएको प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले जानकारी दिए । विमानस्थलका लागि आवश्यक रकम निकासा माग्दै ठेकेदार कम्पनीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएको फाइल करीव २० दिन रोकिएर भुक्तानी दिन नसकेपछि काम प्रभावित भएको थियो । निर्देशक अधिकारीका अनुसार विगत ५ दिनदेखि विमानस्थल निर्माणको काम अवरुद्ध छ ।

‘मन्त्रालयबाट ७० करोड रुपैयाँ निकासाको कुरा भएको छ,’ उनले भने, ‘तर, त्यो निकासा नहुञ्जेल काम नरोकियोस भनेर आजै १० करोडको चेक उपलब्ध गराएका छौं ।’ ठेकदारले भुक्तानी समयमै नपाउँदा भैरहवा विमानस्थल धावनमार्ग पिच गर्ने काम रोकिएको थियो । विमानस्थल निर्माणमा प्रयोग हुने रोलर, पेभर, स्काभेटर, डोजरलगायत ठुला उपकरणमा दैनिक २० लाख रुपैयाँ बराबरको डिजेल मात्र खपत हुने आयोजनाको भनाई छ । यस विमानस्थलमा दैनिक करीव २० हजार लिटर डिजेल खपत हुने गरेको छ ।

चिनियाँ ठेकेदार कम्पनी नर्थवेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्स्ट्रक्सनका प्रतिनिधि त्रिलोचन भट्टका अनुसार उधारोमा डिजेल नपाएपछि काम रोक्नुपरेको हो । डिजेल अभावमा धावनमार्ग पिचको काम गर्ने प्राविधिकसहित ७० कामदारले काम नपाएको उनले बताए । विमानस्थल निर्माणमा २५० श्रमिक कार्यरत छन् । ज्यालादारीमा काम गर्ने सबै श्रमिकको पारिश्रमिक बुझ्ने समय आएको छ । आयोजनाबाट रकम नआए सबै काम रोकिने भट्टले बताए । विमानस्थल आयोजनाका प्रमुख इन्जिनियर प्रवेश अधिकारी पनि ठेकेदार कम्पनीले पेश गरेका दुईवटा बिलको करिब १० करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको स्वीकार गर्छन् । बिल पेश भएपछि आयोजनाले ३ वैशाखमा ३७ प्रतिशत भुक्तानी गरेर त्यसै दिन बाँकी रकमको बिल मन्त्रालयमा पठाएको तर, भुक्तानी नआएको उनले बताए । बिल पेश भएको २८ दिनभित्र भुक्तानी दिनुपर्ने नियम छ ।

काम सक्नुपर्ने म्याद गुजि्रएर दुईपटक समय थप भएको राष्ट्रिय गौरवको यो आयोजनाले पछिल्लो ६ महिना यता भने गति लिएको थियो । कुल ६ अर्ब ८० करोड लागतको यो विमानस्थलमा एसियाली विकास बैंक (एडीबी) को ४०.५ प्रतिशत ऋण र १८ प्रतिशत अनुदान छ । त्यस्तै साउदी अरबको साउदी फण्ड -ओएफआईडी)को ३०.५ प्रतिशत ऋण र नेपाल सरकारको ११ प्रतिशत लागत साझेदारी छ ।

तीन वर्षमा सक्नेगरी सन् २०१४ नोभेम्बरमा ७ करोड ८३ लाख डलरको ठेक्का लिएको चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसनले नेपाली सहायक ठेकेदार कम्पनीसँगको विवादका कारण काममा ढिलाई गरेको थियो । पछिल्लो दिनमा भने विमानस्थलको तीन हजार मिटर लम्बाई र ४५ मिटर चौडाईको धावनमार्ग पीच काम भइरहेको थियो । विमानस्थलको ५१ हजार ८०० मिटरको इन्टरनेसनल एप्रोन (विदेशी जहाज पार्किङ स्थल) र आठ हजार १९० मिटरको डोडेस्टिक एप्रोन निर्माण पुरा भइसकेको छ । मुख्य प्रशासनिक भवन, घांघराखोला डाइभर्सन, विद्युतीय सव स्टेशन, १६ सय मिटर नाली र पाँच दशमलव आठ किलोमिटर तारबारको काम पनि सकिएको छ ।

मुख्य टर्निमल भवन, कन्ट्रोल टावर, आन्तरिक यात्रु आवागमन टर्मिनल, अन्तराष्ट्रिय यात्रु कक्ष, कार्गो भवन, पानी ट्यांकी, लिंक ट्याक्सी वेको पीच र अग्नि नियन्त्रण कक्ष निर्माणको काम अन्तिम चरणमा छ । अन्तर्राष्ट्रियतर्फ चार र आन्तरिकतर्फ दुईवटा पार्किङ वे निर्माण भएको छ । हाल सञ्चालनमा रहेको धावनमार्गलाई पूर्व र पश्चिमतर्फ दुई-दुई सय मिटर बढाएर १९ सय मिटर लामो र २३ मिटर चौडा ट्याक्सी वे बनाइएको छ ।Onlinekhabar