अव मापसेसँगै लागुपदार्थ सेवन (लापसे) जाँच

108

बैशाख ३१,
जनकपुरधाम । मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउनेहरुलाई कारबाही गर्न थालिएको अभियान ‘हिट’ भयो । प्रहरीले पनि सयौंलाई कारबाही गर्‍यो, मापसे गरेर सवारी चलाउने पनि सचेत भए । अब प्रहरीले मापसे जस्तै अर्को अभियान सुरु गरेको छ, लापसे । अर्थात् लागुपदार्थ सेवन जाँच । प्रदेश २ प्रहरीले मादक पदार्थ सेवन ९मापसे० का साथै लागुपदार्थ सेवन गरेर सवारी चलाए नचलाएको जाँच गर्न थालेको हो ।

मादक पदार्थसँगै लागुऔषध प्रयोग गरेर पनि सवारी चलाउने क्रम बढेपछि यो अभियान सुरु गरिएको बताउँछन् प्रदेश २ का ट्राफिक प्रहरी प्रमुख एसपी योगबहादुर पाल । पालका अनुसार बारा र सप्तरीका केही सवारी चालकमा लागुपदार्थ प्रयोग गरे(नगरेको जाँच गरिएको छ ।
बारामा ५३ जना र सप्तरीमा १० जना सवारी चालकको पिसाब परीक्षण गरिएको छ । यस क्रममा दुई जनाले लागुऔषध गाँजा प्रयोग गरेको फेला परेको उपरीक्षक पालले बताए । उनीहरुलाई दिनभर नियन्त्रणमा लिई जरिवाना तिराएर आगामी दिनमा यस्तो नगर्न सचेत गराएर छाडिएको छ । उनका अनुसार लापसे जाँच अभियान केही दिनभित्रै प्रदेशका आठ वटै जिल्लामा विस्तार गरिनेछ ।

यसरी गरिन्छ पिसाबको जाँच

नार्कोनन नामक संस्थाले ड्रग यूरिन टेस्ट किट प्रदेश २ प्रहरी कार्यालय बारा पथलैयालाई उपलब्ध गराएको थियो । यो किटको प्रयोग गरी लागुऔषध प्रयोग गरे(नगरेकोबारे जाँच गरिएको छ । जाँचका क्रममा सवारी चालकहरुलाई एउटा सानो डिब्बा दिँदै त्यसमा पिसाब भरेर ल्याउन भनिन्छ । ल्याइएको पिसाब किटमा राखेपछि लागुऔषध प्रयोग गरे(नगरेको थाहा हुन्छ । ‘यदि कसैले लागुऔषध प्रयोग गरेको छ भने तत्कालै त्यसले देखाउँछ,’ पालले भने, ‘कुन लागुऔषधको प्रयोग गरेको हो त्यो पनि देखाउँछ किटले ।’

दुर्घटनालाई न्यूनीकरण गर्नका लागि यो अभियानको प्रारम्भ गरिएको पालले बताए । उनकाअनुसार लापसे जाँच गर्ने किट उपलब्ध गराउन माथिल्लो निकायमा आग्रह गरिएको छ र आउनासाथ आठ वटै जिल्लामा जाँच सुरु हुनेछ । उनका अनुसार नार्कोननले सय वटा मात्रै किट उपलब्ध गराएको छ ।Onlinekhabar