क्रसर संघका नाममा अवैध असुली

42

नेपाल समाचारपत्र
बैशाख ३१, काठमाडौं । ललितपुरमा नक्कली क्रसर संघ खडा गरी मालबाहक सवारी साधनसंग रकम असुल गरेको रहस्य सार्वजनिक भएको छ । दक्षिण ललितपुर क्रसर व्यवसायी संघ नामको नक्कली संघ खडा गरी व्यवसायीहरुले अबैध गतिबिधि संचालन गरेको पीडित ब्यवसायीहरुले बताएका छन । जिल्लाको गोदावरी नगरपालिका–६, नल्लुखोलाबाट चक्रपथ भित्र प्रवेश गर्ने मालबाहक सवारी साधनलाई विभिन्न बहानामा अवैध रुपमा रकम लिएको पीडितहरु बताउ छन ।

संघले बाटो मर्मत तथा जग्गा मुआब्जाका लागि भन्दै खुलेआम रुपमा रकम उठाइएको ट्रिपर चालक बिकास घलानले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो । टिका भैरब, टाहाखेल, भैँसेपाटी र नख्खु गरी चार स्थानबाट अबैध रुपमा रकम उठाउने कामलाई तीव्रता दिएको सवारी चालकहरु बताउँछन् । गोदावरी नगरपालिकाले ठेक्का लगाई कर उठाउने ती चार स्थानबाट संघको बिल चालकलाई थमाई रकम असुल गर्ने गरेको सवारी चालकहरुले बताएका छन । विभिन्न बहानामा टोलै पिछे स्थापना भएका संघ संस्थाले रकम उठाउदा सवारी चालक आजित भएका छन् ।

‘नगरले उठाउने रकम त कहिँ जाँदैन । विकासमै खर्च होला । तर यो रकम अबस्य नै बाटो बनाउने नाममा खल्तीमा भर्ने उपाय मात्रै हो । यसल हामी आजित छौँ घलानले जानकारी दिनुभयो । एक चालकले उपलब्ध गराएको रसिदमा दश चक्के ट्रिपरसंग ५ सय , ६ पाङग्रे ट्रिपरसंग तीन सय ५०, साना गाडीबाट १ सय, मिनी ट्रिपरसंग एक सय ५० रकम उठाउने गरेको देखिन्छ ।