छुटेको पत्रः ‘म त आँपको रूखजस्तै भइसकेँ’

अमर न्यौपाने (नयाँ पत्रिका दैनिक)
बैशाख २८, काठमाडौं ।

जीवनमा धेरै कुरा छुट्छन् । हामी पनि छोडिएर नै बनेका हौँ । करोडौँ स्पर्म र सयौँ ओभम छुटेर बनेका हौँ ।
पानी खान कुवामा जाँदा चाहिनेजति मात्र पानी उभाएर पिउँछौँ, बाँकी सबै छोडिन्छ । सास फेर्दा पनि चाहिनेजति मात्र हावा लिन्छौँ, बाँकी सबै छोडिन्छ । बजारमा धेरै किताब हुन्छन् । चाहिने मात्र किन्छौँ, बाँकी सबै छुट्छन् ।
आख्यान लेख्दा पनि धेरै पात्र छोडिन्छन् । मैले पनि धेरै पात्र छोडेको छु । केहीलाई छान्न धेरैलाई छाड्नुपर्ने प्रकृतिको नियममा जीवन बाँधिएको छ । यसरी बाँधिएको जीवन वेलावेलामा फुस्किन खोज्छ । कहिले फुस्किदिन्छ । फुस्किँदा छानेका जीवनका कुरा पनि छुटेर जान्छन् ।
धेरै प्रेम छोडिएर एउटा प्रेमसँग जीवन जोडिन्छ । गाडीमा यात्रा गरिरहेका वेला कति राम्रा–राम्रा दृश्य देखिन्छन्, ती दृश्य केही बेरसम्म देखिरहन मन लाग्छ । तर, छोडिन्छन् । समुद्रको लहर कुनै वेला त यसरी आइदिन्छ, मानौँ चन्द्रमा छुने यात्रामा उठेको हो । त्यो एकैछिनमा छुटिहाल्छ ।
तोरी फुलेपछि तोरीबारी त सुनबारीजस्तै देखिन्छ । केही समयमै त्यो पनि छुटेर जान्छ ।
मानिस त मरेर जान्छ, तर मानिसको कथा मरेर जान दिनुहुँदैन भनेर नै लेखकको जन्म भएको होला । या उसका अटेसमटेस भावना र विचार छुटेर जान दिनुहुँदैन भनेर लेखकको जन्म भएको होला । या कुनै प्रेमीले आफ्नी प्रेमिकालाई लेख्दालेख्दै लेखकको जन्म भएको होला ।
जीवन र जगत्बाट छुटेर गए पनि अक्षरमा छुटाउनुहुँदैन भनेर प्रकृति र पात्रहरूलाई लेखकले जति लेखे पनि धेरैजसो ती छुटेका हुँदा रहेछन् ।
छुट्नुले प्राप्तिको महत्व कति बढाएको छ रु पाउनेलाई नै सोध्नुपर्छ । सायद पाउनेले प्राप्तिको आनन्द बताउने शब्द पाउँदैन । त्यसैले, कि ऊ आँसु खसाउँछ कि हाँसो फुलाउँछ ।
लाग्छ, मैले सयौँ पात्र छुटाएको छु र असाध्यै कम पात्रलाई लेखेको छु ।
०००
०६५ सालको कुरा । बिहानैदेखि नेपालगन्जको त्रिभुवन चोकमा भिड थियो । त्यो भिड कसैले आफ्नो पसिना किन्छ कि भनेर जम्मा भएको थियो ।
मानिसहरूले कामदारका रूपमा केहीलाई छानेर लगे । केही यसै काम नपाएर घर फर्किए । एउटा किशोर हुनै लागेको बालक भने कसैले नछाने पनि उभिइरह्यो ।
उसको कथासँग नजिकिन मन लागेर उसको नजिकै गएँ । नजिक गएर उसको कथा सुन्न र त्यो कथालाई छाम्न मन थियो । सबै मानिसको आ–आफ्नै स्वार्थ हुन्छ । एउटा लेखकको स्वार्थ अरूको कथा जान्नु हो ।
‘काम चाहिएको छ दाइ १’ म नजिएको देखेर उज्यालो अनुहार बनाउँदै उसले सोध्यो ।
मलाई भन्न मन लागेको थियो– होइन, कथा
चाहिएको छ ।
म खिसिक्क हाँसेँ र एउटा आँखा चिम्लिएर उसको फोटो खिचेँ । ऊ लजायो र बिस्तारै आफैँसँग बोलेझैँ भन्यो, ‘कुइरेजस्तो त छैन । तर, यो मान्छेले मेरो फोटो किन खिच्यो रु’
म अझ नजिक गएँ र सोधेँ, ‘तिम्रो घर कता हो भाइ रु’
उत्तर दिनुको साटो उसले उल्टै सोध्यो, ‘तपाईं
पत्रकार हो रु’
‘होइन, नेपालगन्ज घुम्न आको ।’
अचम्म मानेर मलाई हेरिरह्यो । मैले सोधेँ, ‘मलाई नेपालगन्ज घुमाइदिन्छौ ?’
‘रिक्साले घुमाइदिन्छ ।’
‘मलाई चाहिँ तिमीले घुमाइदेऊ न । अघि तिमीलाई काम नदिनेहरूले भन्दा धेरै पैसा दिन्छु ।’
‘घुमाएको पनि पैसा आउँछ र रु’
उसलाई सय रुपैयाँ पेस्की दिएर भनेँ, ‘घुमाउनु पनि अरू कामजस्तै काम हो ।’
ऊ छक्क प¥यो र भन्यो, ‘हाम्रो पापाको रिक्सा छ । तर, उहाँ अहिले बिरामी छ । मैले रिक्सा चलाउन सक्ने भएको भए रिक्सामा राखेर तपाईंलाई नेपालगन्ज पूरा घुमाइदिन्थेँ ।’
‘तिम्रो नाम रु’
‘मन्नीराम चिडीमार ।’ मैले फेरि सोध्न नपाउँदै उसले भन्यो, ‘पापाले भनेको हामी बहेलिया हो रे ! नागरिकता बनाउन जाँदा हाकिमले चिडीमार लेखिदिएछ ।’
‘तिमी स्कुल पढ्दैनौ ?’
‘पढ्छु, तीन कक्षा ।’
‘आज बिदा हो ?’
‘हैन ।’
‘अनि किन स्कुल नगको त?’
‘पैसा कामाउन । चप्पल र पाइन्ट किन्नु छ ।’
उसको खुट्टातिर हेरेँ । डोरीले फित्ता भएको काम नदिने, नाम मात्रको चप्पल थियो । नजिकैको पसलमा छिरेर मैले उसका लागि एक जोर पायल चप्पल किनिदिएँ र भनेँ, ‘तिमीलाई घुमाउँदा आउने बाँकी पैसा यही चप्पलमा फच्चे भयो है ।’
‘के हो फच्चे भनेको ? ’
‘सकिन्छ भनेको ।’
टाउको हल्लाउँदै ऊ खिस्स हाँस्यो । तर, उसलाई पाइन्ट त किन्नै थियो । उसले अलि लामो खालको कट्टु लगाइरहको थियो । सायद बस्दा भित्रको गोप्य अंग देखिने गरी जाँगमा फाटेको छ । मैले भनेँ, ‘मलाई भोलि पनि घुमाइदियौ भने पाइन्ट पनि आउने पैसा दिउँला ।’
ऊ मक्ख भयो । फेरि मैले भनेँ, ‘तर तिम्रो स्कुल
छुट्ने भयो ?’
‘स्कुल त कति छुट्छ कति !’
‘स्कुल छुटेपछि फेल भइन्छ ।’
‘आम्माले भनेको– फेल भएर केही फरक पर्दैन । पास भए पनि फेल भए पनि ठूलो भएपछि मजदुरी गर्ने न हो ।’
‘शिक्षकहरूले कस्तो पढाउँछन् त स्कुलमा ?’
‘उनीहरू नेपालीमा पढाउँछन् म अबधीमा बुझ्छु ।’
‘तिमीलाई सबैभन्दा मन पर्ने विषय कुन हो ?’
‘मलाई मन पर्ने विषय नै छैन । मलाई गाडी चलाउने विषय मन पर्छ । पापालाई रिक्सा चलाउँदा बहुत गाह्रो भएको छ । रिक्साले पापालाई वेलावेलामा बिरामी बनाउँछ । त्यसैले ठूलो भएपछि म रिक्सा चलाउन्नँ । अर्को साल म खलासी हुन्छ । त्यसपछि गाडी चलाउन सिक्छु ।’
‘तिमी गाडी चलाउन सक्ने भएपछि म फेरि नेपालगन्ज आउँछु । त्यो वेला तिम्रो गाडीमा राखेर मलाई घुमाइदेऊ है!’
ऊ खिस्स हाँस्यो । यसको अर्थ उसले हुन्छ भनेको हो । उसले आफ्नो गाउँ घुमायो । बिरामी बाबु र काम गरिरहेकी आमा भेट्टायो । उसका सानासाना भाइबहिनी रहेछन् ।
स्कुल घुमाइदेऊ भनेको लाज मान्यो । आफू स्कुल नगएको दिन उसलाई स्कुल जान अप्ठ्यारो लागेको हुँदो हो ।
म आफैँ उसको स्कुल गएँ र शिक्षकहरूसँग चिनजान गरेँ । अर्को दिन गएर त्यहाँका विद्यार्थीहरूको कुरा सुनेर कथा पनि लेखेँ । तर, उसकै कथा पानीको घाममा लेख्न छुटाएँ ।

पुरा पढ्नका लागि नयाँ पत्रिका दैनिकको अनलाइन संस्करण हेर्नु होला