भारतीयलाई नागरिकता काण्डः कर्मचारी भागेपछि वडा ठप्प

50

रविन भट्टराई ( अन्नपूर्ण पोष्ट)
२६ बैशाख , झापा । भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउने प्रक्रियामा मुछिएका जनप्रतिनिधि र कर्मचारी भागेपछि वडाको काम प्रभावित भएको छ। अदालतले पक्राउ पुर्जी जारी गरेसँगै कचनकवल–२ का वडाध्यक्ष मुखबहादुर भट्टराई, वडा सदस्य धनबहादुर गुरुङ र वडा सचिव हरिप्रसाद गौतम एकै दिन फरार भए। यसबाट दैनिक काम लिएर वडा कार्यालय पुग्ने सेवाग्राहीमा परेको छ।

वडा कार्यालयमा अध्यक्ष, सदस्य र सचिव नहुँदा सेवाग्राहीले सिफारिस, जन्मदर्ता, विवाहदर्ता, योजना सिफारिस, नागरिकता सिफारिसलगायत वडाबाट हुने काम लिन सास्ती भोग्नुपरेको वडासदस्य चन्द्रशंकर अधिकारीले बताए। ‘वडा कार्यालयबाट धेरै काम हुन्छ, त्यसैले नागरिकको चाप त हुन्छ नै, वडाध्यक्ष, सदस्य र सचिव सबै भूमिगत भए। काममा समस्या छ,’ अधिकारीले भने। वडा कार्यालयमा हाल आफूलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिए पनि आफूले वडा कार्यालयबाट हुने कुराको धेरै अध्ययन गर्न बाँकी रहेको र वडा सचिवसमेत कार्यालयमा नहुँदा समस्या पर्ने गरेको उनले बताए। नजिकै रहेको ३ नम्बर वडाका सचिव लक्ष्मण तामाङलाई २ नम्बर वडाको पनि काम गर्ने जिम्मेवारी दिइएको छ।