नेकपाको सत्ता र समाजवादको भ्रम

68

कृष्ण खनाल (नयाँ पत्रिका)

गत फागुनतिरकै कुरा हो, नयाँ पत्रिकाको शनिबार अंकमा राजु स्याङ्तानसँग स्वनाम साथीले समाजवादबारे गरेको कुराकानी निकै मार्मिक लागेको थियो । स्वनाम साथीलाई मैले एकाधपटक भेटेको छु । उनी साम्यवादी सिद्धान्त र मान्यतामा गहिरो आस्थासाथ कम्युनिस्ट आन्दोलनमा लागेका मानिस हुन् । सत्ता, पद र सुविधाबाट धेरै टाढा बस्छन् । अत्यन्त सरल र आममान्छेको एउटा प्रतिनिधि हुन् भन्ने लाग्छ, मलाई उनी । अरू धेरै थाहा छैन ।

उनले सत्तारुढ दल नेकपाका अर्का अध्यक्ष पूर्वमाओवादी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘चतुर नेता’को संज्ञा दिँदै व्यंग्यमिश्रित अनुनय गर्छन्, ‘यो कम्युनिस्ट सरकार हो भने, दीन–दुःखी गरिबका पक्षमा थोरै भए पनि काम गरिदिनू।।। पार्टीको यो दुईतिहाइनिकट बहुमत राजमा सबैका लागि आवास हुने गरी घर त बनाइदिनोस् ।’ म उनीसँग विमति राख्न चाहन्नँ । तर, म सोच्छु, हामी आस्था र यथार्थको कत्रो धरापमा छौँ । यसबारेमा मलाई लागेका केही कुरा लेख्न खोज्दाखोज्दै ढिलो भयो । यसैबीच पत्रिकाले साम्यवादरसमाजवादबारे लामो बहस शृंखला पनि चलायो । धेरै सैद्धान्तिक मन्थन पनि भए । तर, मेरा मनका कुरा अझै अनुत्तरित रहे ।

म अहिले जुलिया लोभेलको हालै प्रकाशित ‘माओइजम अ ग्लोबल हिस्ट्री’ भन्ने पुस्तक पढ्दै छु । केही वर्षपहिले नेपाल आएका वेला उनीसँग मेरो संक्षिप्त वार्तालाप भएको थियो । अरू धेरै मानिससँग उनले सोधखोज गरेकी छिन् । ६ सय पृष्ठ लामो पुस्तकमा एउटा परिच्छेद नेपालका बारेमा पनि छ । सबै पढ्न भ्याएको छैन, सरसर्ती नेपाल खण्ड हेरेँ । निश्चिय पनि नेपालको माओवादी विद्रोह र यसले तत्काल पाएको उपलब्धि आश्चर्यजनक र रोमाञ्चकारी छ ।

वर्तमानकालमा माओवादको नाममा विश्वमा यत्रो ठूलो सफलताको देखिने उचाइ नेपालमा मात्रै पाइन्छ । त्यसले जुलिया प्रभावित हुनु अस्वाभाविक होइन । पुस्तकले एमाले–माओवादीको एकताबाट जन्मिएको नेकपालाई छोएको छैन । त्यसैले उनी भन्छिन्, ‘प्रचण्डले अस्थिर राजनीतिको प्रभाव र अनिश्चित भविष्यसँग जुध्नुपरेको छ ।’ सायद सुरक्षित भविष्यका लागि उनको एमालेसँग एकता र नेकपा आवरण यस्तै स्थितिको उत्पादन होला ।

चीनका सन्दर्भमा यो पुस्तकको निष्कर्ष निकै चाखलाग्दा छन् । आजको चीनमा माओकालीन माओवाद छैन । तथापि, कम्युनिस्ट पार्टी र क्रान्तिका संस्थापकका रूपमा माओको उपयोगितालाई राष्ट्रपति सी जिन पिङले राम्रैसँग उपयोग गरिरहेका छन् । माओपछि उनी नै चीनमा अपरिहार्य नेताको स्थानमा छन् । संविधानमा उनको विचारलाई ‘नयाँ युगको चिनियाँ समाजवाद’ भनेर स्थापित गरिएको छ । दुई कार्यकालभन्दा बढी राष्ट्रपति बन्न नपाउने व्यवस्था हटाइएको छ ।

अनुकूल परिस्थिति रहे उनी आजीवन राष्ट्रपति भएमा आश्चर्य मान्नुपर्दैन । चीनको बढ्दो आर्थिक प्रगति, सैन्य शक्ति र अनुकूल आन्तरिक राजनीतिको उपयोग गर्दै सीले चिनियाँ जनतामा संयुक्त राज्य अमेरिका समान वा त्योभन्दा पनि शक्तिशाली र समृद्ध विश्व शक्ति बन्ने एउटा रहरलाग्दो उत्साह र आकांक्षा भरेका छन् । उनको राजनीतिक वैधताको यो अत्यन्त लोकप्रिय माध्यम सावित भएको छ ।

निश्चय पनि चीनमा माओनेतृत्वको क्रान्ति विश्वमा प्रभाव पार्ने राजनीतिक घटना हो । झन्डै ७० वर्षदेखि त्यहाँ कम्युनिस्ट पार्टीको एकछत्र शासन छ । आर्थिक समृद्धि पनि हासिल गरेको छ । विश्व राजनीतिमा उसको उपस्थिति र भूमिकालाई उपेक्षा गर्न मिल्दैन र सकिन्न पनि । चीनबारेका दुई प्रश्नले निरन्तर खुल्दुली गर्छ । के समाजवादका सम्बन्धमा चीन हाम्रो उदाहरण हो रु के सेनाबाट पृथक गर्दा त्यहाँ कम्युनिस्ट पार्टीको वर्चस्व र निरन्तरता कायम रहन्छ रु सन्दर्भ मिलेकाले मैले चीनको कुरा उठाएको मात्र हुँ । तर, यहाँ मैले उठाउन खोजेको विषय नेपालकै हो ।