दिवाकर पन्त (नयाँ पत्रिका)
काठमाडौं ।
मिति – वैशाख २५, बुधबार
समय – दिउँसो १२स्२२
स्थान – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं ।
तुम्लिङटारबाट काठमाडौंका लागि उडेको ट्विनअटर जहाज दिउँसो १२:२२ देखि विमानस्थलको सम्पर्कभन्दा बाहिर पुगेको खबर त्रिभुवन विमानस्थलमा आयो । खबर प्राप्त हुनासाथ विमानस्थल र सुरक्षा निकायका उच्च अधिकारीहरू दुर्घटना भएका वेला संयोजन गर्ने स्थान, उद्धार समन्वय केन्द्र ९आरसिसी०मा भेला हुन्छन् । त्यसपछि जहाज कुन टावरको सम्पर्कमा थियो र कहाँदेखि सम्पर्कभन्दा बाहिर गयो भन्ने पत्ता लगाउन सबै खटिन्छन् । केहीबेरमा १४ यात्रुसहित ३ जना चालक दलका सदस्य रहेको विमान काठमाडौंदेखि ११ नटिकल माइल पूर्व धुलिखेलको देवीचौर भन्ने स्थानमा दुर्घटना भएको जानकारी प्राप्त हुन्छ । तत्काल उद्धारका लागि काठमाडौंबाट घटास्थलनमा नेपाली सेनाको हेलिकोप्टर पठाइन्छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय निकायका सुरक्षाकर्मीसहित उद्धारकर्ता घटनास्थलतर्फ उद्धारका लागि दौडादौड गर्छन् । सामान्य घाइतेलाई धुलिखेल अस्पताल पठाइन्छ भने गम्भीर घाइतेलाई काठमाडौं उपचारका लागि ल्याइन्छ ।
बुधबार मध्य दिनमा भएको यो घटना वास्तविक भने होइन । तर, दुर्घटना नै भएझैँ ‘डमी’ तयार गरी विमानस्थलका अधिकारी, सुरक्षा निकायसहित वास्तविक घटना घट्दा परिचालित हुने सबै निकायलाई परिचालन गरिएको थियो । अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठन ‘आइकाओ’को प्रावधानअनुसार हरेक दुई वर्षमा दुर्घटना उद्धार गर्ने यस्तो अभ्यास गर्नुपर्छ । यसअघि त्रिभुवन विमानस्थलभित्रै गरिने यस्तो अभ्यास पहिलोपटक विमानस्थल र विमानस्थलबाहिर गरिएको हो । यस्तो अभ्यासले यथार्थ घटना भएको समयमा कसरी प्रभावकारी काम गर्ने भन्ने ज्ञान सम्बन्धित सबै अधिकारीलाई दिइने त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।
यसरी गरिन्छ अभ्यास
नक्कली दुर्घटना सिर्जना गरेर अभ्यास गरिने भए पनि अवस्थालाई सक्दो यथार्थ बनाउने कोसिस गरिन्छ । विमानस्थलका निश्चित अधिकारीबाहेक अन्य कसैलाई पनि अभ्यास गर्न लागिएको स्थानबारे जानकारी दिइँदैन । त्यसैगरी नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीजस्ता सुरक्षा निकायका टोलीलाई पनि घटनाको डमी तयार गरिएको स्थानमा खटाइन्छ भने एम्बुलेन्स, दमकल परिचालन गरिन्छ । त्यस्तै दुर्घटनामा परेका यात्रुका आफन्तको भूमिका निर्वाह गर्न केहीलाई खटाइन्छ । त्यसैगरी घटना घट्दा सञ्चारमाध्यमका पत्रकारले गर्ने सोधखोजलाई पनि सम्बोधन गर्ने प्रयास गरिन्छ ।
किन यस्तो अभ्यास गरिन्छ ?
हवाई दुर्घटना कुनै पनि भूभागमा जतिवेला पनि हुन सक्छ । दुर्घटना भएपछि धेरै निकायको समन्वयमा खोज तथा उद्धार गर्नुपर्ने हुन्छ । त्यस्तो अवस्थामा डमी दुर्घटना अभ्यासले साँच्चैको दुर्घटना भएमा प्रभावकारी रूपमा उद्धार गर्न सजिलो हुने भएकाले यस्तो अभ्यास अनिवार्य गर्नुपर्ने व्यवस्था आइकाओले गरेको हो । डमी अभ्यासले सम्बन्धित सबै अधिकारी र सुरक्षा निकायमा समन्वयसहित अभ्यास गर्दा वास्तविक दुर्घटनाको अवस्थामा तत्काल गर्नुपर्ने यथार्थरूपी ज्ञान दिने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले बताए । उनले भने, ‘हवाई दुर्घटनाजस्तो गम्भीर, तर तत्काल सम्बोधन गर्नुपर्ने अवस्थामा संलग्न हुने अधिकारीहरूलाई वेलावेला यथार्थजस्तै लाग्ने अभ्यास गरिरहनुपर्छ, त्यसैले यस्तो अभ्यास गरिएको हो ।’