‘नेकपा पार्टीजस्तो छैन, गुटहरूको महासंघमा परिणत भयो’

82

नयाँ पत्रिका
बैशाख २०, काठमाडौं । नेकपाका स्थायी समिति सदस्य घनश्याम भुसालले देशको पछिल्लो अवस्था दयनीय भएको भन्दै पार्टी नेतृत्वको तीखो आलोचना गरेका छन् । पार्टी र सरकारको नेतृत्वको कार्यशैलीप्रति असहमति राख्दै आएका भुसालले मुलुकको पछिल्लो हालत छाती पिटी रुनेजस्तो भएको टिप्पणी गरे । ‘हामी सांगठनिक हिसाबले अकल्पनीय स्थितिमा छौँ, गुटले पार्टीभित्र व्यक्तिहरूको हैसियत निर्धारण गर्छ, कम्युनिस्ट पार्टीको नाममा, लेनिनवादी संगठनात्मक पद्धतिको ब्यानरमा योभन्दा विरोधाभाष अरू के हुन्छ,’ भुसालले बिहीबार पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भने, ‘देशको हालत भन्नुपर्दा सानैमा सुनेको प्रचण्ड बुढाथोकीको गीतजस्तो छ । गीतले भन्थ्यो– ‘हेर देशको हालत कस्तो छ, छाती पिटीपिटी चिच्याउनुजस्तो छ ।’ त्यो गीतले अहिले देशलाई ऐठन गरिरहेको अनुभूति गर्छु ।’ भुसाल नेतृत्वको कार्लमाक्र्स द्विशतवार्षिकी मूल समारोह समितिले मार्क्सको २ सय १औँ जन्मजयन्तीका अवसरमा २२ वैशाखमा प्रज्ञा भवन कमलादीमा विमर्श कार्यक्रमको आयोजना गर्दै छ । भुसाल समिति संयोजक छन् भने नेकपाका अर्का नेता राम कार्की सहसंयोजक छन् ।

नेतृत्वले सिद्धान्तको मूल जरा काट्यो
भुसालले नेकपा गुटहरूको महासंघ वा काउन्सिलमा परिणत भएको निष्कर्ष सुनाए ।‘हामी सिद्धान्तमा लरखरिएका छौँ । हेटौँडा महाधिवेशनपछि माओवादीले च्याप्टर क्लोज गर्दियो, हामीले चाहिँ नवौँ महाधिवेशनले गरेको निर्णयमा एकपटक केन्द्रीय कमिटीमा छलफलसम्म गरेनौँ, तल गएनौँ, नीतिले नेता चिनेन, नेताले नीति चिनेन,’ उनले भने, ‘सिद्धान्तको मूल जरो काटिदिएपछि अहिले बोनसाई झार भएको छ । जापानिजहरूले बोनसाईको मूल जरो काटेपछि गमलामा सजाउँदा रहेछन्, अहिले वाम आन्दोलनमा सिद्धान्तको अवस्था बोनसाई झाङ गमलामा सजाएजस्तै भएको छ ।’

दलाल पुँजीवादको क्यान्सरले खायो सिद्धान्त

भुसालले दलाल पुँजीवादको क्यान्सरले पार्टीहरूलाई गाँजेकाले उपचार गर्न ढिलाइ भइसकेको जिकिर गरे । ‘सबै पार्टीहरूलाई फस्र्टस्टेजको होइन, सेकेन्ड वा थर्डस्टेजको जस्तो दलाल पुँजीवादको क्यान्सरले भित्रैसम्म गाँजेको छ,’ उनले भने, ‘त्यो क्यान्सरको भाइरसले पार्टीहरूमा सिद्धान्तको भूमिका कच्याककुचुक पारिदिएको छ ।’ उनले पार्टीमा फोरम उपलब्ध नभएकाले पनि बाहिर कुरा राख्नुपर्ने स्थिति आएको बताए । अघिल्लो वर्षबाट सुरु भएको माक्र्सवादको प्रशिक्षण अभियानलाई देशव्यापी बनाउन लागिएको जानकारी दिँदै उनले २० हजार युवालाई प्रशिक्षित गराउने योजना सुनाए ।