सडकभरि हिलो र धुलो, स्थानीय सरकार निरीह

84

मधुसूदन रायमाझी ( नेपाल समाचारपत्र)
बैशाख १९, काठमाडौं । सडक विस्तार शुरु भएको वर्षौं बितिसक्दासमेत निर्माण सम्पन्न नहुँदा उपत्यकाबासी हिलो र धूलोको चपेटामा परेका छन् । उनीले स्थानीय सरकारसँग गुनासो गर्दै दबाब दिने गरेका छन् । तर काठमाडौं उपत्यकाभित्र निर्माणाधीन मुख्य सडकहरु संघीय सरकारअन्तर्गत निर्माण भइरहेकाले स्थानीय सरकार टुलुटुलु हेरेर बस्नुको विकल्प छैन । सरकारले सडक निर्माणमा एकीकृत योजना नबनाउँदा वर्षौंदेखि सडक निर्माणको काम अलपत्र हुँदै आएको छ । सडक निर्माणको गति सुस्त भएपछि निर्माणको प्रक्रिया पनि निकै लामो बनेको छ । सडकअन्तर्गत पर्ने बिजुलीको पोल, ढल, खानेपानीको पाइप, टेलिफोनको पोल समयमा नै व्यवस्थापन नहुँदा सडक निर्माणको काम लम्बिँदै आएको छ । निर्माण कम्पनीलाई बिजुलीको पोल र ढल विस्तार बहानाबाजी बनेको छ ।

चारवर्ष बितिसक्दा समेत चाबहिल–जोरपाटी–साँखु सडकको निर्माण कार्य सुस्त गतिमा अगाडि बढेको छ । उता जोरपाटीदेखि सुन्दरीजल सडकको कन्तबिजोग पनि उस्तै छ । सडक निर्माणको काम तीव्र गतिमा अगाडि नबढेका कारण स्थानीय सरकार पनि हैरान छन् । सडक खाल्डाखुल्डी भएर हिँड्न नै कठिन भएको गुनासो लिएर नागरिकहरु दिनहुँ नगरपालिकाको कार्यालयमा धाउने गरेका छन् । कागेश्वरी मनहरा नगरपालिकाका नगरप्रमुख कृष्णहरि थापा सडकमा खाल्डाखुल्डी भएर यातायात सञ्चालन गर्न कठिनाइ हुँदा समेत टुलुटुलु हेरेर बस्नुपरेको बताउँदै भन्नुहुन्छ–‘सडकमा जताततै भद्रगोल छ, नागरिकहरु छिटो सडक बनाउनुप¥यो भनेर आउँछन्, हामी जनप्रतिनिधि भएर पनि हातखुट्टा बाँधेकोजस्तो भएका छौं ।’