Saturday, October 3, 2026
Home अन्तर्राष्ट्रिय राहुल गान्धी ब्रिटिश नागरिक भएको दाबी

राहुल गान्धी ब्रिटिश नागरिक भएको दाबी

82

एजेन्सी, वैशाख १८,
काठमाडौं । भारत सरकारले प्रमुख विपक्षी दल कांग्रेसका अध्यक्ष राहुल गान्धीलाई उनीसँग विदेशी नागरिकता भए नभएको स्पष्ट पार्न भनेको छ। देशमा निर्वाचन भइरहँदा गान्धीविरुद्ध परेको एउटा उजुरीमा कारबाही अघि बढाउँदै भारतको गृह मन्त्रालयले उनलाई सो विषयमा स्पष्टीकरण दिन निर्देशन दिएको हो।सत्तारूढ भारतीय जनता पार्टीका वकिल सुब्रमनियन स्वामीले गान्धीले पहिला आफूसँग ब्रिटिश राहदानी भएको दाबी गरेको भन्दै उजुरी दर्ता गरेका थिए।

कंग्रेस पार्टीले सो आरोपको खण्डन गरेको छ। राहुल गान्धीकी बहिनी तथा नेत्री प्रियङ्का गान्धीले संवाददाताहरूलाई भनिन्, “पूरै भारतलाई राहुल गान्धी भारतीय हुन् भन्ने थाहा छ।” सो दलका प्रवक्ता राजदीप सुर्जेवालाले भाजपा अत्तालिएको स्थितिमा भएको टिप्पणी गरेका छन्।

राहुल गन्धीलाई पठाइएको पत्रमा यूकेमा दर्ता गरिएको एउटा कम्पनीको कागजपत्रलाई उद्धृत गर्दै स्वामीले उजुरी गरेको सङ्केत गरिएको छ। सन् २००५-२००६ मा प्रस्तुत ती कागजपत्रमा गान्धीले आफूलाई ब्रिटिश नागरिक घोषणा गरेको स्वामीको आरोप छ। तर ती उजुरीकर्ता बेलाबेला यस्तै विवादास्पद दाबी गरिरहन्छन्। उनले २०१५ मा पनि यस्तै दाबी गरेका थिए। तर सर्वोच्च अदातलले सो आरोपबारे छानबिन गर्नुपर्ने दाबीसहित दर्ता गरेको मुद्दा खारेज गरिदिएको थियो।

स्वामीले राहुल गान्धी र उनकी आमा सोनिया गान्धीको शैक्षिक योग्यताबारे पनि प्रश्न उठाएका थिए। सोनिया गान्धीको मूल इटाली हो। त्यसै कारणले पनि उनलाई विवादमा तान्ने गरिएको छ। सन् २००४ मा विपक्षीहरूले यही विषयलाई चुनावी मुद्दा बनाउने प्रयास गरेका थिए। तर उनले भारतको नागरिकता लिन इटालीको राहदानी परित्याग गरिसकेकी थिइन्।