Thursday, September 24, 2026
Home ताजा अपडेट बीआरआई फोरममा राष्ट्रपतिको सम्बोधन

बीआरआई फोरममा राष्ट्रपतिको सम्बोधन

97

वैशाख १३,
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालजस्तो भूपरिवेष्ठित राष्ट्रको सामाजिक आर्थिक विकासका लागि कनेक्टिभिटी सर्वाधिक महत्वपूर्ण रहेको बताएकी छन् । भण्डारीले बढ्दो कनेक्टिभिटीसँगै व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्बन्धको ढोका खुल्ने विश्वास समेत व्यक्त गरिन् । चीनको बेइजिङमा आयोजित दोस्रो बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय फोरम (बीआरआई)लाई शुक्रबार सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘नेपाल-चीन सीमाना पार रेलवे वा बहुआयामिक कनेक्टिभिटी नेटवर्कको विकासले नेपाल र चीनबीच मात्रै नभई यस क्षेत्रका अन्य देशसँग पनि कनेक्टिभिटीलाई प्रवर्द्धन गर्दछ ।’

बेल्ट एन्ड रोड इनिसियटिभमार्फत् मानव जातिको साझा भविष्य निर्माण गर्ने चिनियाँ राष्ट्रपति सि जिन पिङ्गको दुरदृष्टिले विशाल सम्भावना बोकेको उनले बताइन् । ‘यो सहकार्य, सहयोग र सम्पन्नताको एक महत्वूर्ण क्षण हो,’ उनले भनिन्, ‘विकासको फलबाट कुनै पनि विमुख नहुने किसिमको समृद्ध भविष्यका लागि बीआरआई एक माध्यम बन्न सक्दछ ।’ लामो राजनीतिक संक्रमणपश्चात नेपालले राजनीतिक स्थायीत्व प्राप्त गरेको स्मरण गर्दै उनले अबको उद्देश्य जनताको जीवनस्तरमा देखिने गरी परिवर्तन ल्याउनु रहेको जानकारी दिइन् ।

विकासका चुनौतीहरु सामना गर्न नेपालले छिमेकी र मित्र राष्ट्रसँग सहकार्य तथा सहयोग बढाउन चाहेको उनले बताइन् । राष्ट्रपति भण्डारीले दिगो विश्व शान्ति र समृद्धि हासिल गर्न, न्यायपूर्ण, निष्पक्ष, समतामुलक, समावेशी नियममा आधारित विश्व व्यवस्था निर्माण गर्न र वेल्ट एण्ड र रोड फोरम सक्षम हुने विश्वास समेत व्यक्त गरिन् ।