बीआरआईको दोस्रो शिखर सम्मेलन बेइजिङमा सुरु

116

वैशाख १२,
बेइजिङ — चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) को दोश्रो अन्तर्राष्ट्रिय सहकार्य शिखर सम्मेलन बिहीबारदेखि बेइजिङमा सुरू भएको छ। सम्मेलनको पहिलो दिन आज विभिन्न १२ वटा ‘थिमेटिक’ विषयमा छलफल थालिएको छ।

सम्मेलनमा भाग लिनका लागि नेपालबाट राष्ट्रपति, बहालवाला मन्त्रीहरूका साथै पूर्वप्रधानमन्त्री र व्यवसायीहरूको टोली हाल चीनमा छन्। राष्ट्रपति विद्यादेवी भण्डारीको बिहीबारै पल्लो सान्सी प्रान्तको सिआनबाट बेइजिङ आइपुग्ने कार्यक्रम छ। बुधबार सिआन ओर्लिएकी राष्ट्रपति भण्डारीले त्यहाँस्थित ता यान था मन्दिरको अवलोकन भ्रमण गर्नुका साथै बिहीबार टेराकोटा वारियर्सको भ्रमण र त्यहाँस्थित चिनियाँ नेताहरूसँग भेटवार्ता गरेकी छन्। उनको साथमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अन्य नेताहरू सहभागि छन्। शुक्रबार बेइजिङमा हुने सम्मेलनको औपचारिक उद्घाटन समारोहमा राष्ट्रपति भण्डारी सहभागी हुने कार्यक्रम छ। उद्घाटन तथा उच्चस्तरीय बैठकका अलावा चीनका राष्ट्रपति सी चिनफिङले विभिन्न देशका प्रमुखहरूसँग राउण्ड टेबल आयोजना गर्नेछन्।

बिहीबारदेखि सुरू बीआरआई फोरमका विभिन्न १२ वटा विषयगत सम्मेलनमा भाग लिनका लागि बहालवाला मन्त्रीहरू भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा सहभागि छन्। त्यस्तै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित नेपालका अन्य नेताहरू पनि छन्।

दुई वर्षअघि सन् २०१७ को मध्य मेमा भएको प्रथम शिखर सम्मेलनमा २९ विदेशी सरकार प्रमुख र राज्यप्रमुख सहभागी थिए। यस पटक त्यो संख्या बढेको छ। कूल १५० देशबाट ५ हजार पाहुनाहरू र ९० वटा विदेशी संगठनहरू मञ्चमा सहभागी छन्। शिखर मञ्चमा यसअघि सहभागी नभएका कतिपय मुलुकहरू पनि पहिलो पटक सहभागी भएकाले मञ्चको थप आकर्षण बढेको छ।

बीआरआईमा संलग्न नभएपनि फ्रान्स, जर्मनी, बेलायत, स्पेन, जापान, दक्षिण कोरिया र युरोपियन युनियनका उच्चस्तरीय प्रतिनिधिहरू शिखर मञ्चमा सहभागी छन्। युरोपेली यूनियनका सदस्य मुलुकहरू इटाली, स्वीटजरल्याण्ड, ग्रीस, हंगेरी र पोर्चुगलको पनि सहभागिता छ। निकै महत्वका साथ हेरिएको यो सम्मेलनको रिपोर्टिङ गर्नका लागि विश्वभरका पत्रकारहरू पनि बेइजिङमा भेला भएका छन्। कूल एक हजार छ सय विदेशी पत्रकारसहित चार हजार एक सयभन्दा बढी पत्रकारहरुले उक्त मञ्चको समाचार प्रकाशन/प्रसारण गर्ने अनुमान छ।Kantipur