अन्नपूर्णमा हराएका मलेसियनलाई बिमा कम्पनीको बेवास्ता

97

बैशाख १२
पोखरा ।आफ्नो जीवनसाथी हिमालमा हराइरहेको बेला उद्धारका लागि बिमा कम्पनीलाई गुहार्दा उसले बेवास्ता गरे के उपाय होला ? परिवारका एक सदस्य हराउँदा अरु सदस्यको पनि होसै हराउन बेर हुँदैन। मेलेसियाका ४८ वर्षे वि किन चिन अन्नपूर्ण प्रथम हिमालको आरोहणका क्रममा जाँदा हराएपछि परिवारले बिमा कम्पनीलाई त गुहार्‍यो, तर गुहार पाएन। कुनै आपत परे उद्धार पाइएला भनेर वि किन चिन आरोहणमा निस्कनुअघि गरेको बिमाको कुनै अर्थ भएन।

एकातिर बिमा कम्पनी ‘ग्लोबल रेस्क्यु’को बेवास्ता अर्कोतिर हिमालमै गएर खोज्ने काम सहज नहुने। श्रीमती चिनले होस हराइनन् बरु साहस बटुलेर आफैं खोज्‍न थालिन्। श्रीमती चिनले आफैँले श्रीमानको खोजी गर्न नेपालको सिम्रिक एयरलाइन्स गुहारिन्। जुन एयरलाइन्ससँग त्यस्तो उद्धारका लागि हाइअल्टिच्युडमा पनि उड्न सक्ने हेलिकोप्टर, साहसी पाइलट र उद्धारमा दक्ष शेर्पा टोली पनि छ।

आठ हजार मिटरभन्दा अग्लो हिमाल अन्नपूर्ण प्रथम आरोहण गरेर फर्किंदा वि किन चिन हराएको खबर बुधबार साँझ मात्र थाहा भयो, बिहीबार उज्यालो हुनासाथ क्याप्टेन सिद्धार्थजंग गुरुङ सिम्रिक एयरलाइन्सको हेलिकोप्टर लिएर उडिहाले। सिद्धार्थको आँखाले हिमालमा देखिहाल्यो, हेलिकोप्टर देखेर हात हल्लाइरहेको एकजना मान्छे। ग्लोबल रेस्क्युले जीवित नहुन पनि सक्ने भन्दै बेवास्ता गरेका ती आरोही हिमालको मध्यभागतिरै भेटिए। क्याप्टेन सिद्र्धाथले तुरुन्तै त्यो खबर सिम्रिक व्यवस्थापनमा पुर्‍याए। त्यसपछि क्याप्टेन विवेक खड्का नेतृत्वको लङलाइन उद्धार टोली हिमालतिर पुग्यो। सिम्रिकका मार्केटिङ हेड योगेश सापकोटा भन्छन्, ‘खबर आउनासाथ हामी त मानवताको नाताले पनि उद्धारका लागि खटियौं।’

नेपालमा आउने पर्यटकको बिमा गर्ने तर त्यसबापतको सेवाका लागि तयार नहुने प्रवृत्ति बिमा कम्पनीले देखाएको यो प्रतिनिधि उदाहरण बनेको छ। बिमा कम्पनीको बेवास्ता र लापरबाहीले मलेसियन नागरिक वि किन चिन र उनको परिवारले सास्ती बेहोरेको छ।

सिम्रिकका मार्केटिङ हेड सापकोटाका अनुसार बिहीबार बिहान उडेका सिम्रिकका हेलिकोप्टर अन्नपूर्ण प्रथमको आधार शिविरमा छन्। काठमाडौंबाट उडेको हेलिकोप्टरले आधार शिविरभन्दा केही माथि नै उद्धारमा दक्ष शेर्पा टोलीलाई झारिसकेको छ। उनले भने, ‘हाम्रो पहिलो काम ती पर्यटकलाई चाहिने अक्सिजन र खाद्यान्न उनी भएकै ठाउँमा झार्ने र उद्धार टोली त्यहाँ पठाउने हुन्छ।’ उद्धारमा खटिएको शेर्पा टोली ती पर्यटक भएका ठाउँसम्म पुग्न ४ घन्टाभन्दा बेसी लाग्ने सापकोटाले सुनाए। उनकै भनाइअनुसार पहिला ती पर्यटकलाई बोकेर केही तल हेलिकोप्टर आउनसक्ने ठाउँसम्म ल्याइने छ, त्यसपछि हेलिकोप्टरमा डोरीमा झुन्ड्याएर सुरक्षित स्थलमा अवतरण गराइनेछ। डोरीमा झुन्ड्याएर गरिने त्यही उद्धारलाई लङलाइन रेस्क्यु भनिन्छ। सुरक्षितस्थलबाट आरोहीलाई अस्पताल लगिनेछ। मलेसियाली आरोहीकी श्रीमती पनि काठमाडौं आइसकेकी छन्।

अन्नपूर्ण प्रथमको आरोहरणमा वि किन चीन ३१ जनाको टोलीमा गएको मलेसियाली सञ्चार माध्यम स्ट्रेट्सटाइम्सले लेखेको छ। मंगलबार आरोहण पूरा गरी फर्किंदा उनी बाटोमा छुटेका थिए। यसअघि वि किन चिनले अरु थुप्रै हिमालको आरोहण गरिसकेका छन्। Annapuran