समृद्धिका लागि साहस र धैर्यता चाहिन्छः प्रधानमन्त्री

106

वैशाख १०,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउन साहस र धैर्यता चाहिने बताएका छन् । पासाङल्हामु शेर्पाले सगरमाथा आरोहण गरेको २६ औं वर्षको अवसरमा आयोजित पासाङ प्रतिष्ठा दिवसमा बोल्दै उनले आत्मविश्वासका साथ अगाडि बढेर देशलाई समुन्नत र प्रतिष्ठित बनाउन सकिने बताए ।

“पासाङल्हामुबाट प्रेरणा र हौसला लिनुपर्छ, असम्भव भन्ने चिज केही छैन”, उनले भने “असम्भवलाई सम्भव बनाउन सक्दछौं, देशलाई विकसित गर्न सक्छौं ।” प्रधानमन्त्री ओलीले यस पटक सगरमाथाको पुनः उचाइ मापन गर्ने काम शुरु भएकोले नेपाल र चीन दुवैतर्फबाट सगरमाथाको वास्तविक उचाइ पत्ता लगाइने बताए ।

प्रधानमन्त्री ओलीले पासाङल्हामु शेर्पा मेमोरियल कलेजका उत्कृष्ट विद्यार्थी ममता बराल, रञ्जना गौतम, सोभिता गौतम र विकास अधिकारीलगायतलाई नगदसहित पुरस्कृत वितरण समेत गरे । राष्ट्रिय विभूति पासाङल्हामु शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला हुन् । १० वैशाख २०५० मा सगरमाथाको आरोहण गरी फर्कने क्रममा उनको मृत्यु भएको थियो ।-रासस