सरकारसँग वार्ता गर्न राप्रपाले तयार पार्यो दीपक बोहराको संयोजकत्वमा वार्ता समिति

90

बैशाख ९,
काठमाडौं । कमल थापा नेतृत्वको राप्रपाले सरकारसँग वार्ता गर्न वरिष्ठ नेता दीपक बोहराको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । सोमबार बिहान बसेको राप्रपा शीर्ष नेताहरुको बैठकले बोहराको नेतृत्वमा महामन्त्री राजेन्द्र लिङ्देन र नेता निरञ्जन थापा सदस्य रहेको ३ सदस्यीय वार्ता समिति गठन गरेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपाले गत फागुन ७ गते नेपाल सरकार समक्ष पेश गरेको २२ बुँदे मागका सम्बन्धमा वार्ता गर्न आइतबार कानुन मन्त्री भानुभक्त ढकालले सरकारका तर्फबाट पत्र लेखी बैशाख १० गतेका लागि वार्तामा आमन्त्रण गरेका थिए । सरकारको पहलकदमीलाई राप्रपाले सकारात्मक रुपमा लिँदै वार्ता कमिटी गठन गरेको हो । राप्रपाका सहायक महामन्त्री राजाराम बर्तौलाले मंगलबार दिउँसो १ बजे सिंहदरबारमा वार्ता हुने तय भएको रातोपाटीलाई जानकारी गराए । राप्रपाले देशलाई हिन्दुराष्ट्र बनाइनु पर्ने, राजतन्त्रको पुनर्स्थापना गरिनुपर्ने लगायतका माग गर्दै आन्दोलन गर्दै आएको छ ।