किन नेपालमा दिनहुँ हावाहुरी र चट्याङ्ग परिरहेको छ ?

244

बैशाख ६,
काठमाडौं । आज पनि देशका पहाडी भू–भागमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ । यो वर्षको मनसुन अघिको अवस्था अर्थात् प्रिमनसुन सक्रिय देखिएको छ । पोहोर परारको तुलनामा यो वर्ष मनसुन अघिको अवस्था सक्रिय भएका कारण दिनदिनै हावाहुरी र चट्याङसहित पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सामान्यतया मनसुन अघिको अवस्थामा बिहान सफा भएको मौसम दिउँसोपछि बदली भएर बेलुकीतिर मेघगर्जन र हुरी बताससहित पानी पर्छ । तर यो वर्ष बिहान र दिउँसो पनि पानी परेको छ । महाशाखाका अनुसार काठमाण्डौमा सामान्यतया अप्रिल महिनामा ६१ मिलिमिटर पानी पर्ने गर्छ । यसपाली भने १८ दिनमै ५४ मिलिमिटर पानी परिसकेको छ ।

यस्तै ताप्लेजुङमा १५० दशमलव ८ मिलिमिटर पानी पर्नुपर्नेमा ९४ दशमलव ७० मिलिमिटर, पोखरामा ७२ दशमलव ४० मिलिमिटर, जनकपुरमा ८६ दशमलव १० मिलिमिटर पानी परिसकेको छ । महाशाखाकी मौसमविद् विभूति पोख्रेलका अनुसार पूर्वमा बनेको न्यूनचापीय रेखा, पश्चिमी वायु, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको मिश्रणले यसपाली मनसुन अघिको अवस्थालाई सक्रिय बनाएको हो ।

आज पहाडी क्षेत्रको मौसम एकैछिन खुल्दै एकैछिनमा बदली हुँदै गर्ने मौसमविद्ले अनुमान गरेका छन् । अरु ठाउँको मौसम भने सफा हुनेछ । यस्तै स्थानीय वायुको प्रभावले कतै नजिकै पानी परे पनि नजिकै अर्को ठाउँमा भने घाम लाग्ने सम्भावना रहेको मौसमविद् विभूति पोख्रेलले बताएका छन् ।-नेपाल समाचारपत्र