जयकेश सिंहले गरेआफूसँग भएको सम्पति दान

31

नेपालगञ्ज – नेपालगञ्जका जयकेश सिंहले आफूसँग भएको सम्पति दान गरेका छन् ।

शिक्षक पेशाबाट पेन्सनमा अवकास लिएका सिंहले आफूसँग भएकाे १२ कठ्ठा जग्गा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयलाई हस्तान्तरण गरेका हुन् ।

उनका अनुसार साे जग्गा नेपालगञ्ज र डुडुवामा क्षेत्रमा पर्दछ । उनले डुडुवा गाउँपालिका- ६, असमानपुरमा ३ हजार पाँच सयवटा रुखविरुवासहित चार विगाह २ कठ्ठा जमिन महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयलाई दिएका छन् । जहाँ जयेन्दु बाल सुधार गृह बनेको छ ।

साे बालगृह जयकेश र उनका श्रीमती इन्दु सिंहको नामलाई जोडेर जयेन्दु बाल सुधार गृह बनाइएको छ । जसमा बालक र किशोर अवस्थामा अपराध गर्न पुगेकाहरुलाई त्यहाँ राख्ने गरिएको छ । अहिले २ सय ११ जना बसिरहेका छन् ।

यस्तै, जयकेशले नेपालगञ्जमा मानव सेवा आश्रमलाई १० कठ्ठा जग्गा दिएका छन् ।

यसका साथै, जयकेशसँग अब एउटा सात धुरमा बनेको घर छ । यो घर पनि पछि दान नै गर्ने उनको विचार रहेकाे उनी । सबै सम्पति दान गरेका जयकेश बृद्ध अवस्थामा बृद्ध आश्रम बस्ने बताउँछन् ।

जयकेशका सन्तान छैनन् । तीन बच्चा गर्भमा तुहियो । सात महिनामा जन्मेर एक बच्चा एक घण्टामै बित्यो । सन्तान सुख भएन । जयकेशको सम्पति अरु नभएका भने होइनन् । उनका भतिजाहरू धेरै छन् । आफूले आफ्नो सम्पति ठीक ठाउँमा लगाएको जयकेशको भनाइ छ । ‘अति सर्वत्र बर्जयेत’ अर्थात् कुनै पनि चिज धेरै भयो भने नोक्सानदायी (विनास) हुन्छ भन्ने जयकेशलाई लाग्छ ।

जयकेशको पुर्खा टन्न सम्पतिबाट जिरोतिर ढल्केका थिए । झण्डै पाँच सय वर्ष अघि भारतको मैनपुर स्टेटबाट बाँकेमा आएका उनका पूर्खा चार मौजाका मालिका थिए ।

असमानपुर, सुन्दुरपुर, सुर्जपुर र प्रसनपुर उनकै पूर्खाको मौजा थियो । हजुरबुवा बच्चा सिंहबाट बुवा तप्तबहादुर सिंको पालामा आइपुग्दा घरकलहले सबैंजसो सम्पति रित्तिएको थियो । तीन विगाह पुख्र्यौली जमिन पाएका जयकेशले मास्टरी गरेर जोडेको जग्गा समाज विकासमा लगाएका हुन् ।

जयकेश भन्छन्,’मैले सबै सम्पति दिएर नाम र सेवा गरेको छु । बृद्धाअवस्थामा बस्ने र खाने चिन्ता मलाई छैन । कुनै बृद्धाश्रममा बसिहाल्छु ।’