नरजन तामाङ ( नयाँ पत्रिका)
बैशाख ५ हुम्ला । सिमकोट गाउँपालिका–७ चौगान फायाँका स्थानीय प्रशस्त खेतीयोग्य जमिन र सिँचाइ नभएपछि बाह्रै महिना पिठ्यूँका भरमा बाँच्ने गरेका छन् । गाउँमा खेतीयोग्य जमिन नहुँदा चौगान फायाँवासी उत्तरी नाम्खा गाउँपालिका–५ तुम्कोटको मैदा र सदरमुकाम सिमकोटको चामल बोकेर परिवार पाल्ने खर्चको जोहो गर्न बाध्य भएका छन् ।चौगान फायाँकी २४ वर्षीया सरिता शाही एक वर्षको छोरा घरमै छाडेर मैदा लिन चार घन्टा पैदलपछि नाम्खा–२ केर्मी पुगिन् । नाम्खा गाउँपालिकाको केर्मीबाट मैदाको भारी बोकेर घर पुग्न भने उनलाई पाँच घन्टा लाग्छ । गाउँमा खेतीयोग्य जमिन नभएपछि दैनिक तुम्कोटको मैदा र सिमकोटको चामल किनेर बिहान–बेलुका खर्चको जोहो गर्दै आएको उनले दुखेसो गरिन् ।
यो बाध्यता सरिताको मात्रै होइन, सिमकोट–७ चौगानफायाँकै सुनीता शाही पनि घरमा खाद्यान्न नभएकै कारण बालबच्चा छाडेर मैदा किन्न केर्मी गाउँ पुगेको बताउँछिन् । ‘आमाले मैदा लिएर आउँछिन् बेलुका खाउँला भन्दै छोराछोरी आसैआसमा बसेका होलान्,’ सरिता शाहीले भनिन् । ‘निर्वाचनको समय सिँचाइ दिउँला भन्छन्, निर्वाचित भएपछि आफ्ना घर बनाउँछन्, आफ्नै छोराछोरी सुविधासम्पन्न विद्यालयमा पढाउँछन् । गरिबका छोराछोरीको पढाइलेखाइ टाढाकै कुरा हो, बिहान–बेलुका बच्चालाई खान लगाउनसमेत समस्या छ’ सरिताले भनिन् ।
खेतीबाट दुई महिना धान्न पनि मुस्किल हुने स्थानीय रत्न शाहीले बताए । ‘गाउँमा धेरै जग्गा हुनेहरूलाई बढीमा दुई महिनासम्म हुन्छ, थोरै जग्गा हुनेको त एक महिना पनि पुग्दैन । गाउँको खेत एक बिहान जोतेर सकिन्छ’ उनले भने ।