नेपाली बलरसामू सिंगापुरका खेलाडी टिक्न नसक्दा ६५ रनमै अलआउट

58

चैत २९
काठमाडौँ -नेपालले सिंगापुरमाथि फराकिलो जित निकालेको छ। मलेसियाको क्वालालम्पुरमा भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले सिंगापुरलाई २१७ रनले पराजित गरेको हो। २८३ रनको लक्ष्य पछ्यएको सिंगापुर ३१ ओभरमा अलआउट हुँदै ६५ रनमा समेटियो। नेपालका लागि पवन सरार्फले ३ विकेट लिँदा सूर्य तामाङ र कुशल मल्लले २/२ विकेट लिए। थप २ विकेट पनि मल्लकै बलमा सिंगापुरका खेलाडी रन आउट भए।

यसअघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ४६ ओभरमा सम्पूर्ण विकेट गुमाएर २८२ रन बनाएको थियो। सुरुवात राम्रो नगरेको नेपालका लागि ओपनर रित गौतम १ रन बनाएर तथा तेश्रो नम्बरका आसिफ शेख ८ रन बनाएर आउट भएका थिए। त्यसपछि तेस्रो विकेटको लागि ओपनर पवन सर्राफले कप्तान रोहित पौडेलसँग ९० रनको साझेदारी गर्दै टिमको योगफल १०० कटाए। १९ औं ओभरमा सर्राफ अर्धशतक बनाउन ३ रनले चुक्दै आउट भए। उनले ५३ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरेका थिए। सर्राफको विकेट लगत्तै सन्दिप जोरा खाता नखोली आउट भए।

त्यसपछि भिम शार्कीले १९ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरि २६ रन बनाए। त्यसपछि आएका कुशल मल्लले १ चौका र १ छक्का प्रहार गर्दै ७ बलमा १० रन बनाएर आउट भए। सातौं विकेटको लागि नवौं नम्बरमा आएका राशिद खानसँग रोहितले ७७ रनको साझेदारी गर्दै नेपालको योगफल २०० कटाए। राशिद अर्धशतक बनाउन २ रनले चुके। उनले ४७ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४८ रन बनाए। रोहितले आठौं विकेटका लागि कमल सिंह ऐरीसँग ३७ रनको साझेदारी गरे। शतकको नजिक पुगेका रोहित ४६ औं ओभरमा आउट भए। ५ रनले पहिलो शतक बनाउन चुकेका रोहितले १०५ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरे।

रोहितको विकेटपछि ३१ रन बनाएर ऐरि पनि आउट भए। उनले १८ बलमा ३ छक्का र १ चौका प्रहार गरे। त्यसपछि ४६ औं ओभरको पाँचौ र छैठौ बलमा लगातार विकेट गुमाउँदै ४६ ओभरमा २८२ रनमा अलआउट भयो।

सिंगापुरको लागि अथर्भ गुनेले ४ विकेट लिए। यस्तै राउल शर्मा र भिनित मेहताले समान २/२ विकेट लिए।