मध्यपुरथिमिको तीनसय वर्ष पुरानो पोखरीमा भरियो पानी

82

चैत २७,
भक्तपुर –मध्यपुरथिमि नगरपालिका–४ मा रहेको दुई पोखरी केही दिनअघिसम्म खेल मैदान बनेको थियो । धेरै वर्षसम्म झार र घाँसले ढोकेको यी पोखरी सरसफाइपछि केही वर्षयता मङ्सिरमा स्थानीयवासीले धान सुकाउन प्रयोग गर्ने र अन्य समयमा केटाकेटी खेल्ने मैदानको रूपमा परिणत हुँदै आएको थियो ।

तर निर्वाचनपछि जनप्रतिनिधिको जिम्मेवारी सम्हाल्नुभएको मध्यपुरथिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले लिएको सङ्कल्प यतिखेर धमाधम पूरा हुन थालेका छन् । जसमध्ये नमूनाको काम हो, ‘निगु पुखुः’ अर्थात दुई पोखरीको पुनरजीवन । स्थानीयवासीले यो पोखरीको नेवारी नामसमेत भूलिसकेका थिए, यो ठाउँको नाम नै दुई पोखरी भइसकेको थियो । तर यसवर्षको विष्का जात्रालाई लक्षित गरी नगरपालिकाले कम्तीमा एउटा पोखरीको पुनरनिर्माण गरी पानी भर्ने सङ्कल्प लिएर गरेको काम सफल भएसँगै आज बिहानबाट पानी भरेर पोखरीलाई पूर्णता दिएको छ ।

पानी भरिएर पुनरजीवन पाएसँगै ३०० वर्ष पुरानो ऐतिहासिक यो पोखरीको पुरानो नाम ‘निगु पुखुः’ले पनि पुनरजीवन पाएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठ बताउँछन् । करिब ३०० वर्ष पहिले गङ्गा महारानीले दुई पोखरी स्थापना गरी मध्यपुरथिमिवासीलाई पानीको स्रोत दिएको भन्ने जनश्रुति रहेको स्थानीय बताउँछन् ।
नगरपालिकाले आव ०७५÷७६ मा रु ५० लाख बजेट विनियोजन गरे पनि पुनरनिर्माणका क्रममा भने रु ६० लाख खर्च भएको उपभोक्ता समितिले जनाएको छ ।

निगु पुखुः पुनःनिर्माण तथा गुरुयोजना उपभोक्ता समितिले विष्का जात्रालाई लक्षित गरी दक्षिण तर्फको पोखरी पुनरनिर्माण सम्पन्न गरेको र अब उत्तरतर्फको पोखरीको पनि पुनःनिर्माण शुरु गरिने उनले जानकारी दिए । नगर प्रमुख श्रेष्ठका अनुसार नगरपालिकाले आगामी तीन वर्षमा पुनःनिर्माण सम्पन्न गर्नेगरी दुई पोखरी पुनःनिर्माणका लागि रु १५ करोडको लागत अनुमान तयार गरेको छ । यसअन्तर्गत पोखरी परिक्रमा गर्न मिल्ने गरी पैदलमार्गमा आठ वटा फल्चा अर्थात पाटी निर्माण गरिने भएको छ ।

स्थानीयवासीका अनुसार राजा महेन्द्र विसं २०१५ मा भक्तपुर आउँदा राजालाई स्वागत गर्न दुईपोखरीको पानी निकालेर मैदान बनाएदेखि पोखरी मैदानमा परिणत भएको हो । त्यसपछि पोखरी संरक्षण हुन नसके पनि २०६५ सालमा नगरपालिकाले फलामे बार लगाएर संरक्षणको प्रयास गरेको थियो ।

स्थानीयवासीका लागि पानीको स्रोत र कतै आगलागी भएमा सोही पोखरीको पानी प्रयोग गर्न मिल्ने गरी ठूला दुईवटा पोखरी निर्माण गराएको स्थानीयवासीको भनाइ छ । अहिले थिमिकै बोरिङबाट पानी ल्याएर भरिएको र आगामी दिनमा आकाशेपानी सङ्कलन गरी पोखरीलाई जीवित राखिने योजना रहेको छ ।रासस