विमानस्थलभित्रकै पसलबाट डलर तस्करी

78

नयाँ पत्रिका
चैत २५, काठमाडौं । नौ वर्षअघि विमानस्थलको स्टेराइज्ड क्षेत्रमा कफीसप सञ्चालन गर्न दिने निर्णय हँुदा निकै विवाद भयो । विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा निजी कफीसप चल्न दिनु सुरक्षाको दृष्टिकोणले गलत भएको सुरक्षा अधिकारीहरूको विश्लेषण थियो । तर, उच्च राजनीतिक दबाबका अगाडि उनीहरूको केही लागेन । कफी पसलको आवरणमा त्यहाँबाट अवैध धन्दा हुने गरेको आशंका धेरैले गर्दै आएका थिए । जुन शुक्रबार पुष्टि पनि भएको छ । पसलका सञ्चालक सुवास श्रेष्ठ विभिन्न देशका अवैध मुद्रासहित पक्राउ परेका छन् । प्रारम्भिक अनुसन्धानमा उनले पसलबाट विदेशी मुद्राको अवैध कारोबार गर्दै आएको खुलासा भएको छ । उनको साथबाट २२ हजार एक सय ५० थाई भाट, १० हजार अमेरिकन डलर, ८० हजार चिनियाँ युआन र एक हजार तीन सय ८० युरो बरामद भएको छ । उनकी श्रीमती, दुई छोरी र एक छोरालाई समेत प्रहरीले पक्राउ गरेको छ । राजस्व अनुसन्धान विभागले श्रेष्ठदम्पतीलाई थुनामा राखी कारबाही अघि बढाएको छ ।

स्रोतका अनुसार पटक–पटक उनले त्यसरी अवैध विदेशी मुद्रा लैजाने गरेको सूचनापछि प्रहरीले चेकजाँच गरेको थियो । विगतमा उनीमाथि चेकजाँचसमेत हुने गरेको थिएन । स्टेराइज्ड क्षेत्र भनेको सबै चेकजाँच पूरा गरेपछि विमानको प्रतीक्षा गर्ने ठाउँ हो । उनी त्यहीँबाट पक्राउ परेका हुन् । श्रेष्ठले बरामद विदेशी मुद्राको स्रोत खुलाउन सकेका छैनन् । विदेश जाँदा बढीमा पाँच हजार अमेरिकी डलर बोक्ने पाइने नियम छ । अन्य विदेशी मुद्राको नेपालमा कारोबार हुँदैन । विदेश भ्रमणको उद्देश्यले डलर सटही गर्दा पासपोर्टमा समेत उल्लेख गर्नुपर्ने नियम छ । तर, पक्राउ परेका श्रेष्ठको पासपोर्टमा ती विदेशी मुद्रा सटहीबारे केही उल्लेख छैन । बरामद विदेशी मुद्राको स्रोत नखुलेकाले उनलाई पक्राउ गरी राजस्वमा बुझाइएको विमानस्थल प्रहरी प्रमुख एसएसपी सन्दीप भण्डारी बताउँछन् ।