बहुमतको सरकार छ, विकासको स्पष्ट नीति लिईन्छ र कार्यान्वयन गरिन्छ : प्रधानमन्त्री

82

चैत् २०,
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जनताले बहुमत दिएर पठाएको सरकार छ। यसले विकासमा स्पष्ट नीति लिन्छ। तिनै नीतिहरूको आधारमा योजना बनाउँने र कार्यान्वयन गर्ने बताएका छन् ।राष्ट्रिय योजना आयोगले तयार गरेको १५ औँ पञ्चवर्षीय योजना (२०७६/०७७ –२०८०/८१ )को प्रस्तावित आधार पत्रलाई पारित गर्न बसेको राष्ट्रिय विकास परिषद्को बैठक उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विकासका लागि दलहरुबीच समझदारी र एकता आवश्यक रहेको बताए ।

उनले सन्तुलित विकासका लागि तिनै तहका सरकारले समन्वयात्मक ढङ्गले काम गर्नुपर्ने बताए। उनले विकासका लागि राजनीतिक स्थिरता र नीतिगत आधार तयार भएको बताए। प्रधानमन्त्री ओलीले विगतमा जस्तो एउटा सरकार बन्ने केही महिनामा त्यसलाई ढालेर अर्को सरकार आउने अवस्थालाई जनताले अन्त्य गरेकाले अब नीतिगत र राजनीतिक स्थिरता कायम भएको बताए।

उनले सरकार विकासको महाअभियानमा सरिक भएकाले पक्षविपक्ष नभएर सबैले सहकार्य गरेर देश निर्माणमा जुट्न आग्रह गरे। नेपालको विकासको प्रयासलाई साथ र सहयोग गर्न अन्तर्राष्ट्रिय समुदाय पनि इच्छुक भएको प्रधानमन्त्रीको भनाइ छ। ‘हाम्रा विकासका प्रयासलाई साथ सहयोग दिन अन्तर्राष्ट्रिय समुदाय पनि इच्छुक छ। लगानी सम्मेलनले यसलाई स्पष्ट पारेको छ ’ प्रधानमन्त्री ओलीले भने।

उनले विकासका महत्वकांक्षी योजना लिएर सरकार अघि बढ्ने बताए। ‘हाम्रो राष्ट्रिय संकल्प समृद्ध नेपाल, सुखी नेपाली हो। यस गन्तव्यमा पुग्न हामीले महत्वकांक्षी ढङ्गले काम गर्नै पर्दछ। भौतिक विकास, शिक्षा, स्वास्थ्य सबै क्षेत्रमा महत्वकांक्षी योजना कार्यान्वयन गरेर देशलाई अघि बढाइनु पर्दछ ’ प्रधानमन्त्री ओलीले भने।