देशमा रोजगारी सिर्जना गर्नका लागि शिक्षामा गुणात्मक सुधार गर्नुपर्छ :प्रचण्ड

139

चैत २०
काठमाडौँ -पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विद्यालयदेखि विश्वविद्यालयसम्म व्यवसायिक शिक्षामा प्राविधिक शिक्षा, उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने शिक्षा आजको आवश्यकता भएको बताएका छन्।

बुधबार राजधानीमा सुरू भएको राष्ट्रिय विकास परिषद्को बैठकलाई सम्बोधन गर्दै अध्यक्षले भने, ‘हामीले २५ वर्षसम्मको योजनामा विचार गर्दा अब कस्तो जनशक्ति तयार पार्ने भन्ने कुरालाई सबैभन्दा माथि राख्नुपर्दछ भन्ने मलाई लाग्दछ।’

उनले शिक्षा नीति सुधार हुनुपर्ने बताउँदै नेपालको वस्तुगत परिस्थितिअनुसार कृषिमा आधुनिकीकरण, कृषिको व्यवसायीकरण, कृषिको विविधीकरण गर्ने र कृषिमा आधारित उद्योगहरू स्थापना गरेर उत्पादन वृद्धि र रोजगारी सृष्टि गर्ने कुरामा केन्द्रित हुनसक्नेमा जोड दिए।

अध्यक्ष प्रचण्डले रोजगारी सिर्जनाका लागि शिक्षामा गुणात्मक सुधार हुनुपर्ने बताए।

उनले नपढेको भन्दा पढेको जनशक्ति विदेश पलायन हुने क्रम बढ्दो रहेको उल्लेख गर्दै भने, ‘देशभित्र काम गर्नेभन्दा विदेशमा गएर जागिर खोज्ने प्रवृत्ति बढ्दो छ र देशभित्र उत्पादनशील जनशक्ति घट्दो छ। यो के कारणले भयो भनेर गहिरिएर हेर्ने हो भने मुख्य कुरा शिक्षामै छ।’

उनले भने, ‘हामीले त्यस्तो शिक्षा दिन थाल्यौं भने स्वतः त्यसबाट उत्पादित जनशक्ति नेपालको वस्तुगत परिस्थितिअनुसार उसले कृषिमा आधुनिकीकरण, कृषिको व्यवसायीकरण, कृषिको विविधीकरण गर्ने र कृषिमा आधारित उद्योगहरू स्थापना गरेर उत्पादन वृद्धि र रोजगारी सृष्टि गर्ने कुरामा केन्द्रित हुनसक्दछ।-सेतोपाटी