Friday, October 2, 2026
Home खेलकुद रबडा नायक बन्दा सुपर ओभरमा दिल्लीको रोमाञ्चक जित, सन्दीपको उत्कृष्ट बलिङ

रबडा नायक बन्दा सुपर ओभरमा दिल्लीको रोमाञ्चक जित, सन्दीपको उत्कृष्ट बलिङ

89

एजेन्सी, चैत १७,
काठमाडौ -इन्डियन प्रिमियर लिग (आईपीएल) को शनिबार राति भएको खेलमा सन्दीप लामिछानेको टोली दिल्ली क्यापिटलले जित हात पारेको छ । निर्धारित २० ओभरमा रन बराबरी भएपछि सुपर ओभरमा गएको खेलमा दिल्लीले बाजी मार्न सफल भयो ।

फेरोज शाह कोटला मैदान दिल्लीमा भएको खेलमा दिल्लीले टस जितेर पहिले बलिङ रोजपछि ब्याटिङमा उत्रिएको कोलकात्ताले २० ओभरमा ८ विकेट गुमाएर १८५ रन बनाएको थियो । १८६ रन को लक्ष्य पाएको दिल्लीले २० ओभरमा ६ विकेट गुमाइ १८५ नै रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो ।

लक्ष्य पछ्याउने क्रममा दिल्लीका लागि ओपनर ब्याट्सम्यान पृथ्वी शाले ५५ बलमा ९९ रन बनाइ दिल्लीलाई जितको नजिक पुर्‍याएका थिए । १९ औं ओभरमा शा आउट भएपछि दिल्लीको इनिङ धरमरायो । अन्तिम ओभरमा जितका लागि ६ रन चाहिएकोमा कोलकात्ताका बलर कुलदीप यादवले एक विकेट लिँदै ५ रनभन्दा बढी जोड्ने अवसर दिएनन् र खेल बराबरी भयो ।

सुपर ओभरमा पहिले क्याटिङ गरेका दिल्लीका ब्याट्सम्यानले १ विकेट गुमाइ १० रन जोडेका थिए । कोलकात्तालाई ११ रन बनाई जित दिलाउँनका लागि क्रिजमा खडा भएका थिए अघिल्लो इनिङमा ६ छक्का र ४ चौकासहित २८ बलमा ६२ रन बनाएका वेस्टइन्डिजका अलराउन्डर आन्द्रे रसेल र साथमा कप्तान दिनेश कार्तिक । उनलाई रोक्न बलिङमा दिल्लीले दक्षिण अफ्रिकी दायाँहाते फास्ट बलर कागिसो रबडालाई पठायो । पहिलो बलमा नै चौका प्रहार गरेका रसेलले दोस्रो बल डट खेले र तेस्रो बलमा बोल्ड हुन पुगे । त्यसपछिका बलमा रबडाले कोलकात्ताका ब्याट्सम्यानलाई बाउन्ड्रिसम्म बल पुर्‍याउने मौका दिएनन्। सुपर ओरभमा कोलकात्ताको ७ रन मात्रै बन्यो । र दिल्लीले खेल जित्यो।

पहिलाको इनिङमा ४ ओभरमा ४१ रन दिएर सबैभन्दा महंगो बनेका रबडा सुपर ओभरमा कसिलो बलिङ गरी खेल जिताउन सफल भए। आईपीएल यस सिजनमा पहिलो पटक खेल्ने मौका पाएका नेपालका लेग स्पीनर सन्दीप लामिछाने ४ ओभरमा २९ रन दिएर १ विकेट लिए । यस खेलमा सन्दीपको बलिङ दिल्लीका लागि सबैभन्दा किफायती हो ।