पूर्वप्रधानमन्त्रीको पछुवा गाडीले स्कुटरलाई ठक्कर दिएपछि…

75

चैत १७,
काठमाडौँ -पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बलको बा१झ ९५२७ नम्बरको पछुवा गाडीले शुक्रबार साँझ बबरमहलबाट बानेश्वरतिर जाँदै गरेको बा४५प ३२३४ नम्बरको स्कुटरलाई ठक्कर दियो। स्कुटर चालक सन्तोष कुँवर र त्यसमा सवार उनकी श्रीमती लडे तर ठक्कर दिने त्यो गाडीले भने कुनै ‘रेस्पोन्स’ गरेन। लडेकालाई उठाउनुपर्ने ‘जिम्मेवारी बोध’ प्रदर्शन गर्नुको सट्टा घटनाको बेवास्ता गर्दै आफ्नै गतिमा अघि बढ्यो त्यो गाडी।

कुँवर दम्पतीलाई सामान्य चोट लागेको छ। ‘खुट्टामा सामान्य चोट लागेको थियो, हामीले नजिकैको मेडिकल सेन्टरमा गएर उपचार गरायौं,’ स्कुटर चालक कुँवरले भने। उदयपुर स्थायी घर भएका उनी बानेश्वरस्थित सुपा देउराली गेस्टहाउसका सञ्चालक हुन्। शनिबार दिउँसो २ बजेतिर साथीले घटनाको भिडियो सामाजिक सञ्जालमा आएको बताएपछि कुँवरले महानगरीय प्रहरी वृत्त बानेश्वर पुगी आफूलाई केही नभएको जानकारी गराएका थिए। उनी सम्पर्कमा पुगेलगत्तै प्रहरीले पूर्वप्रधानमन्त्री चन्द र सशस्त्र प्रहरी बललाई त्यसबारे खबर गरेको थियो। पछुवा गाडीमा सशस्त्र प्रहरी थिए।

काभ्रेका सन्जीव तामाङ लामाले शुक्रबार राति भिडियो आफ्नो फेसबुकमा ‘पोस्ट’ गरेका थिए। त्यसपछि मात्र सशस्त्र प्रहरी बलले घटनाप्रति चासो व्यक्त गरेको थियो। सशस्त्र प्रहरी बलले तत्कालै सो गाडीका चालकलाई हल्चोक बोलाएर अनुसन्धान गरिरहेको छ। ‘हामीले बिहान थाहा पायौं, त्यसकारण चालकलाई बोलाएर अनुसन्धान गरिरहेका छौं,’ सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी सुरज श्रेष्ठले भने।

पूर्वप्रधानमन्त्री चन्दले शनिबार अपराह्न ५ बजेतिर स्कुटर चालक दम्पतीलाई आफ्नै निवास लोकन्थलीमा बोलाएर भेटेका थिए। आफूले घटनाबारे भिडियो हेरेर थाहा पाएको र घटनाप्रति दुःख व्यक्त गर्दै चन्दले कुँवर दम्पतीसँग माफीसमेत मागेका थिए। ‘उहाँले हामीलाई घरमा बोलाउनुभयो, केही भएको भए उपचार गर्छु भन्नुभयो, गल्ती भयो, मैले पनि बिहान मात्रै थाहा पाएँ,’ चन्दको भनाइ उद्धृत गर्दै कुँवरले भने। तर आफूहरूले यसलाई सामान्य रूपमा लिएको र घाउ पनि सामान्य नै लागेको प्रतिक्रिया दिएको कुँवरले बताए।

भिभिआइपीको सुरक्षामा खटिने पछुवा गाडी अनियन्त्रित ढंगले ‘रङ साइड’बाट दौडिँदा दुर्घटना भएको भिडिओमा देखिन्छ। भिडियोमा चन्द सवार स्कार्पियोको पछाडि सशस्त्र प्रहरीको भ्यानले इमर्जेन्सी लाइट बाल्दै पछ्याइरहेको र दायाँतिर रातो कार र सशस्त्रको भ्यानको चेपुवामा परेर भ्यानमा एउटा स्कुटर ठोक्किएर ढलेको देखिन्छ। गाडी ‘रङ साइड’बाट क्रस गर्दा स्कुटरमा सामान्य ठक्कर लागेकै कारण स्कुटर ढलेको थियो। सो गाडीको पछाडि मोटरसाइकल थियो पछाडि गाडी भएको भए स्कुटरमा सवार दुवैको ज्यान पनि जान सक्थ्यो। ‘भिआइपीको गाडी पछ्याउनुपर्ने बाध्यताका कारण त्यस्तो अवस्था आएको हुनसक्छ, यस विषयमा अनुसन्धान भइरहेको छ,’ डिआइजी श्रेष्ठले भने।

पूर्वप्रधानमन्त्री चन्दले घटनाबारे आफू अनभिज्ञ रहँदा पनि सामाजिक सञ्जालमा आफूलाई लक्षित गरेर नराम्रा कमेन्ट गरिएको भन्दै दुःख व्यक्त गरेका छन्। ‘मिति २०७५र१२र१५ गतेका दिन नयाँ बानेश्वरस्थित ५ः४५ बजेतिर मेरो सुरक्षामा रहेको भ्यान र एउटा स्कुटर दुईवटा गाडीका बीचमा परेर आत्तिएर भ्यानको पछिल्लो भागमा ठोक्किँदै लडेको र लगत्तै उठेर हिँडेको मलाई आज १६ गते सुरक्षाकर्मीले जानकारी गराए। यसमा म अनभिज्ञ थिएँ तर विभिन्न फेसबुक, मिडियामा मेराबारे विभिन्न नराम्रा कमेन्ट देख्दा म दुखित छु,’ उनले भने।

भिआइपी सुरक्षाको नाममा यस्ता पछुवा गाडीले आतंक मच्चाउने गरेका छन्। उनीहरूले सडकमा साइरन बजाउँदै अन्य सवारीसाधानलाई समेत बेवास्ता गर्ने र जथाभावी सवारी चलाउँदा भिआइपीको मर्यादामा आँच आउने गरेको छ। कतिपय सन्दर्भमा पछुवा गाडीले अनावश्यक ढंगले गाडी चलाउँदा भिआइपीको सार्वजनिक प्रतिष्ठामा ठेस पुग्ने गरेको सुरक्षाविज्ञ नवराज ढकालको भनाइ छ। ‘भिआइपीको गाडीलाई पछ्याउनु पछुवा गाडीको दायित्व हो तर कहिलेकाहीं पछुवा गाडीले सडकमा आतंक नै मच्चाउने गरी साइरन बजाउने र गतल साइडबाट ‘ओभरटेक’ गर्दा अन्य सवारी चालक र सर्वसाधारणलाई अप्ठ्यारो महसुस हुने गरेको छ,’ सुरक्षाविज्ञ ढकालले भने।Nagarik